कञ्चनपुरमा सात वर्षसम्म पनि बनेन दोदामा पुल, जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता
2023/01/03, 12:34
 
dd

कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन ।

पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । विसं २०७५ पुस २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म पुल निर्माण नहुँदा यहाँका स्थानीयवासीले सास्ती खेप्दै आउनुपरेको छ । सात वर्षदेखि खोलामा तीनवटा पिल्लर मात्रै छन् । एउटा पिल्लरको काम अधुरै छ ।

त्योबाहेक अरू कुनै काम हुन सकेको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरले भने पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण समयमा सम्पन्न हुन नसकेको जनाएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका सूचना अधिकृत पियुष चटौतले पुलको जगमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बन्न लागेको बताए ।

“पुलको फाउन्डेसनमा समस्या आएपछि अर्को स्थानमा पुल बनाउन निर्माण कम्पनीलाई पत्राचार गरिसकेका छौँ”, उनले भने, “सडक कार्यालयले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले चासो नदेखाउँदा निर्माणमा ढिलाइ भएको हो ।” सडक डिभिजन कार्यालयका अनुसार २०७७ माघ २५ मा पुलको काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा भए पनि पछि २०८० साल असार मसान्तसम्म म्याद थप भएको छ । म्याद थप भए पनि निर्माण कम्पनीले हालसम्म पुल निर्माणको काम भने सुरु गरेको छैन ।

दोदा नदीमा पुल नहुँदा वर्षौंदेखि यहाँका स्थानीयवासीहरूले आवतजावतमा समस्या झेल्दै आएका छन् । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको यहाँका स्थानीयवासी बताउँछन् । खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीयवासी रघुवीर राना बताए । नदीपारि बसाइँ र वारि खेतबारीको काम गर्नुपर्ने भएकाले ज्यान जोखिममै राखेर बर्सातमा नदी तर्न बाध्य रहेको उनले सुनाए ।

“पुल नहुँदा बर्खामा धेरै समस्या हुन्छ हाम्रो खेत वारि भएकाले आउन बाध्य हुन्छौँ”, उनले भने, “केही वर्ष अगाडि नदीले बगाएर दुई जनाको ज्यान गएको थियो ।” त्यसैगरी स्थानीयवासी शाहदेव रानाले पुल नहँुदा वर्षौंदेखि समस्या भोग्दै आएको बताए । “पिल्लर बनेको चार÷पाँच वर्ष भयो अहिलेसम्म पुल बनेन”, उनले भने, “हिउँदमा काठे पुलको सहाराले नदी वारपार गर्छौं ।” पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सोमध्ये निर्माण कम्पनीले रु १४ करोड ८८ लाख भुक्तानी लिइसकेको छ ।