पेलेको अन्तिम बिदाइमा उर्लियो मानवसागर
2023/01/03, 4:47
 
pele

महान् फुटबलर पेलेप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हजारौँ प्रशंसक सान्तोस फुटबल क्लबको मैदानमा भेला भएका छन् । आफ्नो करियरको सबैभन्दा ऊर्जाशील समय पेलेले सान्तोस क्लबमा नै बिताएका थिए । 

पेलेको शवपेटिका साओ पाउलोस्थित उर्बानो काल्देरा रंगशालाको बीचमा राखिएको छ । पेलेको शवको अन्तिम दर्शन गर्न हजारौँ मानिस सडकदेखि रंगशालासम्म पंक्तिबद्ध भएका छन् । सन् १९४० मा दक्षिणपूर्वी ब्राजिलमा गरिब परिवारमा पेलेको जन्म भएको थियो । तीन पटक विश्वकपको उपाधि जितेका एक मात्रै फुटबलर पेलेको गत साता ८२ वर्षको उमेरमा निधन भएको थियो ।  

sds

मंगलबार उनलाई समाधिस्थ गर्नुअघि सान्तोसमा उनको शव यात्रा निस्किनेछ । पेलेप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रंगशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्ने बताए । 

सोमबार बिहान शवबाहन रंगशालामा आइपुगेसँगै हजारौँ प्रशंसकहरू सडकमा निस्किएका थिए । पेलेप्रति श्रद्धाञ्जलि अर्पण गर्न केही मानिस रातिदेखि नै लाइनमा बसेका थिए । शव राखिएको पेटिका बोक्न ब्राजिलका भूतपूर्व खेलाडी जे रोबेर्टो र पेलेका छोरा एडिन्होले सहयोग गरेका थिए भने नेयमार, भिनिसस जुनिअर र रियल मड्रिड क्लबले पुष्पगुच्छा पठाएका थिए । 

ब्राजिलमा यतिबेला निकै गर्मी छ । तापमान झण्डै ३० डिग्री सेल्सियस पुगेको छ । तर, पूरै शहर पेलेको शव राखिएको रंगशालातिर उर्लिएको छ । शोकाकूल प्रशंसकहरू रंगशालाको बीचमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।ब्राजिलमात्रै नभई विश्वभरिबाट उनका प्रशंसक ब्राजिल पुगेका छन् ।

sd

मानिसहरू पेलेको क्लब सान्तोसको कालो र सेतो रंगको जर्सी वा ब्राजिलको राष्ट्रिय टोलीको पहेँलो रंगको जर्सी लगाएर निस्किएका छन् । रंगशालामा सन् २००६ मा पेलेले गाएको ‘मीउ लेगादो’ अर्थात् मेरो विरासत बोलको गीत गुञ्जिएको छ ।