कञ्चनपुरको कृष्णपुरमा १३ हजार ४५ कित्ता जग्गाको नापजाँच पुरा
2023/01/16, 3:37
 
dd

कञ्चनपुरको कृष्णपुर नगरपालिकाभित्र अहिलेसम्म १३ हजार ४५ कित्ता जग्गाको नापजाँच पुरा भएको छ। वडा नम्बर १, २, ४ र वडा नम्बर ९ मा गरी सो संख्यामा जग्गाको नापजाँच पुरा भएको हो।

नगरप्रमुख हेमराज ओझाले भूमि इकाइअन्तर्गत अव्यवस्थित बसोबास, भूमिहीन, दलित र सुकुम्बासीको जग्गा नापजाँचको काम भइरहेको बताएका छन्। कृष्णपुर नगरपालिकाका विभिन्न वडामा जग्गा नापजाँच गरिरहेका फिल्डका सर्वेक्षक, अमिन र इकाइ प्रमुखसँग नगरप्रमुख ओझाले छलफल नै गरेर जग्गा नापजाँचको काम तीव्र गतिमा अघि बढाउन निर्देशन समेत दिएका छन्।  

मेयर ओझाले नगरवासीले वर्षौंदेखि जग्गा भोगचलन गरेको तर पुर्जा प्राप्त गर्न नसक्दा मारमा परिरहेकाले आफूले जग्गा नापजाँचको काम सकाएर लालपुर्जा वितरण गर्ने कामलाई प्राथमिकतामा राखेको बताए। ‘पटकपटक भूमिसम्बन्धी आयोग बन्ने तर वास्तविक भूमिहीनले पुर्जा नपाउने क्रम दोहोरिएकोले आयोग सम्बन्धी नागरिकको विश्वास घट्दै गइरहेको छ। अब भने कुनै पनि बहानामा जग्गा नापजाँचको काम रोक्न हुँदैन।’, उनले भने।

कृष्णपुर नगरपालिकामा जग्गा नापजाँच गरिरहेको टोलीका सदस्यसँग हालसम्मको प्रगति विवरण, नापजाँचका क्रममा आइपरेका कठिनाइलगायतका विषयमा पनि उनले जानकारी लिएका छन्।  कृष्णपुर नगरपालिका वडा नम्बर १ मा तीन हजार ३४५ कित्ता, वडा नम्बर  २ मा चार हजार ४ सय कित्ता, वडा नम्बर ४ मा दुई हजार ८ सय कित्ता र वडा नम्बर ९ मा दुई हजार पाँच सय कित्ता जग्गा नापजाँचको काम सकिएको छ।

वडा नम्बर ३ मा पनि अव्यवस्थित बसोबास, भूमिहीन, दलित र भूमिहीन सुकुम्बासीको जग्गा नापजाँचको काम छिट्टै सुरु हुने नगरपालिकाले जनाएको छ।