डोटीका भूकम्प पीडित कठ्यांग्रिदो जाडोमा खुला आकाशमुनि बस्न बाध्य
2023/01/20, 1:32
 
aa

डोटीमा ६ जनाको ज्यान जाने गरी भूकम्प आएको अढाई महिना बितिसक्दा पनि सरकारले पीडित परिवारको पुनःस्थापनाको काममा तदारुकता देखाउन सकेको छैन ।  सयौं घरहरू क्षतीग्रस्त हुँदा भूकम्पपीडित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्। सरकारले अहिलेसम्म क्षतिपूर्तिबारे विस्तृत तथ्यांकसमेत संकलन गर्न सकेको छैन ।

कठ्यांग्रिँदो चिसोमा त्रिपालमुनि ओत लगाएर बस्न बाध्य रहेको डोटीको पूर्वीचौकी गाउँपालिका– ३ काडामाडौका पदम बोहराले दुखेसो सुनाए । ‘राहत ल्याउनेहरू लुगाफाटो र त्रिपाल बोकेर मात्र आउँछन्, टाउको निहुराउने घर पुनर्निर्माण गरिदिए सहयोग हुने थियो’, पूर्वीचौकी ३ गैरागाउँकी लक्ष्मी बोहराले दुखेसो गरिन्, ‘चिसोले गाउँमा सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिकालाई समस्या भइसकेको छ ।’

स्थानीय तहहरूले पठाएको प्रारम्भिक विवरणका आधारमा राहतका सामग्री वितरण भएपनि ती तथ्यांकहरूमा पूर्ण विश्वस्त रहन सक्ने आधार नरहेको सरोकारवाला बताउँछन्  । ‘स्थानीयको दबाबमा जनप्रतिनिधिहरूले न्यून क्षति भएकालाई पनि पूर्ण क्षतिग्रस्तको सूचीमा राखेर पठाउँदा वास्तविक पीडित पहिचान गर्न कठिनाइ भएको छ’, एक गैरसरकारी संस्थाका पदाधिकारीले आरोप लगाए  । पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा कात्तिक २२ गतेको भूकम्पले बढी क्षति गरेको थियो  ।

डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले क्षतिपूर्तिको विस्तृत सर्भेका लागि पुनर्निर्माण प्राधिकरणको प्राविधिक टोली घटनास्थल खटिएको बताइन्  । निर्वाचनका कारण समयमै माथिबाट टोली आउन नसक्दा क्षतिपूर्तिको तथ्यांक संकलनमा ढिलाइ भएको श्रेष्ठको भनाइ छ । प्राधिकरणको टोलीले क्षतिग्रस्त ठाउँहरूको विस्तृत सर्भे गरेपछि मात्र वास्तविक पीडितको पहिचान हुन सक्ने बताइन्  ।

केही दातृ संस्थाहरूले भने ढिलो गरी डोटीमा भूकम्पपीडितहरूका लागि अस्थायी घर निर्माण थालनी गरेका छन्  । नेपाल रेडक्रस सोसाइटीले आउँदो महिनासम्म सम्पन्न हुने गरी २ सय अस्थायी घर बनाउने तयारी थालेको छ  । रेडक्रस सोसाइटीका आवास अधिकृत विजय ढकालले पालिका र जिल्ला प्रशासनको अनुमति लिएर पीडितहरूको तथ्यांक संकलन गरी पूर्वीचौकी गाउँपालिका— ३ गैरामा अस्थायी घर बनाउन सुरु भएको बताए  । १ कोठा, १ भान्सा र १ बरन्डा भएको अस्थायी घर बनाउन रेडक्रसले ९८ हजार रुपैयाँ पीडित परिवारलाई सहयोग गर्ने भएको छ ।