प्रदेश एकलाई हराउँदै सुदूरपश्चिम पहिलो पटक प्रधानमन्त्री कप महिला क्रिकेटको च्याम्पियन
2023/01/21, 3:12
 
प्रदेश एकलाई हराउँदै सुदूरपश्चिम पहिलो पटक प्रधानमन्त्री कप महिला क्रिकेटको च्याम्पियन

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको फाइनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउँदै पहिलो पटक च्याम्पियन बनेको छ । प्रधानमन्त्री कप सुदूरपश्चिमले पहिलो पटक जितेको हो ।

जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिएको थियो । दोस्रो बलमा कविता जोशीले कप्तान रुविना क्षेत्रीलाई लङ अफमा सानदार छक्का हान्दै जित नजिक पुर्‍याएकी थिइन् । कविताले पाँचौँ बलमा विजयी रन बटुलिन् ।

कविता जोशी २० बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहिन् । सम्झना खड्का ३३ बलमा २ चौकासहित २७ रनमा अविजित रहिन् ।

डली भट्ट १६ बलमा १ चौका र २ छक्कासहित २२, विन्दु रावल ७, कविता कुँवर १२ र रुवि पोदार ८ रनमा आउट भए । प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, सङ्गीता राई र हिरन्मई रायले एक एक विकेट लिए ।

त्यसअघि इटहरीको जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । प्रदेश एकको लागि ओपनर काजल श्रेष्ठ ६३ बलमा ८ चौकासहित सर्वाधिक ४८ रनमा अविजित रहिन् ।

कप्तान रुविना क्षेत्री २५ बलमा १ चौकासहित १४ र अप्सरी बेगम २० बलमा २ चौकासहित १५ रनमा आउट भए । सबनम राई शून्य, लखिता राजवंशी ४ र स्मृति कटुवालले ३ रन बनाइन् ।

सुदूरका लागि मनीषा चौधरीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । ऋतु कनोजियाले ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिइन् । प्रतियोगिता विजेता सुदूरले पाँच लाख र उपविजेता टोली प्रदेश एकले तीन लाख प्राप्त गर्नेछन् ।