जिम्बाबेको टोलीसँग खेल्दै एसपीए
2023/01/29, 1:45
 
जिम्बाबेको टोलीसँग खेल्दै एसपीए

लखनउ - भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालको एसपीए कलेजले आज जिम्बाबेको टोलीसँग खेल्दैछ । जिम्बाबेको लेजेन्ड कम्बाइन्ड स्कुलसँग एसपीएको टोलीले साँझ ६ बजे पर्थ मैदानमा खेल्नेछ। उक्त खेल राति फ्लड लाइटमा हुनेछ।

यसअघि पहिलो खेलमा एसपीएको टोली उत्तराखण्डको अमिनेटी पब्लिक स्कुलसँग एसपीए ११९ रनले पराजित भएको थियो । अघिल्लो चरण प्रवेश गर्न अब लिगमा बाँकी दुई खेलमा एसपीएले जित हात पार्नुपर्नेछ। त्यसका लागि आफूहरु तयार रहेको एसपीएका कप्तान आशिष लुहारले बताए । ‘स्थानीय कन्डिसनसँग घुलमिल हुन नपाएको र नयाँ टिम भएकाले पनि पहिलो खेल सोचेअनुसार भएन । अब हामीसँग बाँकी दुई खेल जित्नैपर्ने अवस्था छ। हामी त्यसका लागि तयार छौं,’ कप्तान आशिषले भने। यता जिम्बाबेको टोलीले भने पहिलो खेल खेलमा कोलकत्ताको साउथ सिटी इन्टरनेशनल स्कुललाई ४२ रनले पराजित गरेको थियो।

विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको जनाएका छन्। लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा भइरहेका छन्।