महाकाली करिडोर छिटो निर्माण गर्न दबाब,सडक क्षेत्रका घर भत्काउन थालियो
2023/02/17, 12:38
 
hdsfsdhgi

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा समावेश गरेको महाकाली करिडोर सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै स्थानीयले स्वस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालेका छन्।  अविलम्ब सडक निर्माणका लागि दबाब दिने उद्देश्यले स्थानीयले सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालेका हुन्। डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीस्थित चौराहा बजारका घरधनीहरूले स्वस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका आफ्ना घर भत्काएर सडक निर्माणमा ढिलासुस्ती नगर्न दबाब दिएका छन्। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोर सडक निर्माणमा निकै ढिलासुस्ती भइरहेको स्थानीयको गुनासो छ।

कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर महाकालीपारिको भूभाग दोधारा चाँदनी हुँदै दार्चुलाको टिंकर जोड्ने महत्वपूर्ण सडक योजना निर्माणमा चरम लापरबाही भइरहेको परशुराम नगरपालिका–७ का पूर्ववडाध्यक्ष केशव बोहराले बताए। दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्न डेढ दशकअघि काम शुरू भएको थियो। उक्त आयोजनाको काम निकै सुस्त गतिमा भइरहेको छ । हालसम्म ट्रयाक खोल्ने काम पनि सकिएको छैन।

ब्रह्मदेवदेखि दार्चुलाको तिखारपानीसम्म ३३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक परियोजनाले गरिरहेको छ । तिखारपानीदेखि टिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ। ३३४ किलोमिटरमध्ये हालसम्म २१५ किलोमिटरमा ट्रयाक खोलिएको परियोजनाले जनाएको छ। अझै ११९ किलोमिटरमा ट्र्याक खोल्न बाँकी छ । केही स्थानमा कालोपत्रेका लागि ठेक्का भए पनि काम शुरू हुन सकेको छैन।

धेरै ठाउँमा रूख कटानीको आदेश नपाएका कारण ट्रयाक खोल्न ढिलाइ भएको हो। कञ्चनपुरमा पर्ने कौवानी वन क्षेत्रको ११ किलोमिटर सडकमा रूख कटानीको आदेश आएको छैन । उक्त सडक खण्डमा १९ सय ५१ रूख काट्नुपर्ने हुन्छ । महाकाली करिडोर सडक परियोजनाका अनुसार डडेल्धुरामा १० हजार ४ सय ७६ रूख काट्नुपर्ने भए पनि हालसम्म २ हजार ५ सय रूख मात्रै काटिएको छ।