
पत्रकार शेरबहादुर ऐरको घटनाको सत्यतथ्य छानविनका लागि नेपाल प्रेस युनियन कैलाली शाखाले दबाबमुलक कार्यक्रम अघि बढाउने भएको छ । बुधबार बसेको कार्यसमितिको बैठकले पत्रकार ऐरमाथि आक्रमण भएको चार दिन भईसक्दा समेत कुनै सुनुवाई नभएको भन्दै न्यायका लागि दबाबमुलक कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।

‘पत्रकार ऐरमाथि भएको घटनाप्रति खेद प्रकट गर्दै सत्यतथ्य छानविनका लागि दबाबमुलक कार्यक्रम अघि बढाईने छ’ बैठकको निर्णयमा भनिएको छ ‘साथै पत्रकार ऐरलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
युनियनका जिल्ला अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा बसेको बैठकले दबाबमुलक कार्यक्रम अघि बढाउने संगै युनियनका रिक्त रहेका पदमा तीन जनालाई मनोनित गरेको छ । यस्तै, प्रेस युनियन कैलालीका सदस्यहरुको नविकरण तथा नयाँ सदस्यबारे पनि बैठकले निर्णय गरेको सचिव सिताराम ओझाले बताए ।
