बजेट विनियोजन नगर्दा फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकियो
डिपीआरका लागि करिब २० करोड रुपैयाँ आवश्यक पर्ने
2023/03/29, 1:40
 
फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

धनगढी - धनगढी उपमहानगरपालीका ३ मा बन्ने फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको काम अघि बढ्न सकेको छैन् । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको विस्तृत परियोजना निर्माणको काम अघि बढ्न नसकेको हो ।

सरकारले गत जेठमा फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम स्थापना गर्ने घोषणा गरेको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम स्थापना गर्ने घोषणा गरेपपछि पूर्वाधार निर्माण विकास समिति पनि गठन गरिएपनी बजेट नपाउँदा डीपिआर निर्माणको प्रक्रिया रोकीएको छ। पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाहीले चालु आर्थिक वर्षमा डिपीआर निर्माणका लागि बजेट नआएको बताए । उनलेफाप्ला देशभरमा खेलक्षेत्रकै सबैभन्दा ठूलो परियोजना सरकारले रंगशाला निर्माण हुनुपर्ने घोषणा गरेपनी बजेट नआउँदा प्रक्रिया अघि नबढेको बताए । समितिको कार्यालय सञ्चालन र व्यवस्थापनका लागि सरकारले यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको अध्यक्ष शाहीले जानकारी दिए ।

डिपीआरका लागि बजेट छुट्याउनु पर्ने भएपनी देशमा आर्थिक अवस्था कमजोर भएकाले पनि यस वर्ष बजेट नआएको बुझेको बताए । डिपीआरका लागि करिब २० करोड रुपैयाँ आवश्यक पर्ने समितिको भनाई छ । एक दशकदेखि फाप्लामा क्रिकेट रंगशाला निर्माण गरिनुपर्ने यहाँका बासिन्दाको माग रहेको छ। सरकारले अन्तर्राष्ट्रिय रंगशाला तथा खेलग्राम स्थापनाको निर्णयसहित विकास समिति गठन र फाप्लाको साढे ३८ विघा जमिन भोगाधिकार दिने निर्णय गर्नुपनि ठूलो उपलब्धी भएको अध्यक्ष शाहीले बताए । तत्कालीन युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीसमेतको सहभागितामा गत २९ असारमा धनगढीमा बसेको पूर्वाधार निर्माण विकास समितिको बैठकले डीपीआर निर्माणको काम तत्काल अगाडि बढाउने र त्यसका लागि सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको थियो ।

तत्कालिन मन्त्री गहतराजले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा विकास समितिमार्फत रंगशाला निर्माण गरिने जानकारी दिएका थिए। ठूलो परियोजना एउटै सरकारले सम्पन्न गर्न गाह्रो हुने भएकाले तीनै तहको सरकार साझेदारी आवश्यक रहेको उनले बताए । बहुवर्षीय यो आयोजना पूरा गर्न तीनदेखि पाँचसम्म लाग्ने मन्त्री गहतराजको भनाइ थियो । कार्यान्वयन हुनसक्ने आधारमा केन्द्र, प्रदेश र स्थानीय सरकारको साझेदारीको आधार तयार पार्ने र जनस्तरको पनि लगानी र संलग्नताको आधारमा अगाडि बढाउने बताएका थिए । तर सरकारी प्राथमिकतामा नपर्दा डीपिआरका लागि बजेट विनियोजन भएन । गत जेठमा गठन भएको समितिले करिब एक महिनाअघि धनगढीमा कार्यालय स्थापना गरेको छ। धनगढीमा कार्यालय राखिएपछि त्यसअघि काठमाडौँमा राखिएको कार्यालय अहिले समितिको सम्पर्क कार्यालयको रुपमा रहेको छ ।

रंगशाला तथा खेलग्राम स्थापनाको निर्णयले उत्साहित यहाँका खेलप्रेमी र स्थानीयबासिन्दा एक वर्षसम्म पनि प्रारम्भीक कामसमेत अगाडि नबढेपछि निराश छन् ।नेपाल क्रिकेट संघका प्रदेश अध्यक्ष हरी रेग्मीले सरकारी प्राथमिकतामा नपर्दा रंगशाला र खेलग्राम निर्माणका प्रारम्भीक कामहरु अगाडि बढ्न नसकेको बताए । फाप्लामा रंगशाला निर्माणको विषयलाई राजनीतिक दलहरुले चुनावका बेला भोट तान्ने माध्यममात्र बनाएको उनको आरोप छ । उनले एक वर्षसम्म रंगशाला र खेलग्राम बन्ने नबन्ने अवस्था नरहेको बताए । अहिलेकै गतिमा काम गरिए भने २० वर्ष लाग्न सक्ने उनले बताए । यहाँका खेलप्रेमी र स्थानीयले फाप्लामा क्रिकेट रंगशाला निर्माण हुनुपर्ने माग दशकदेखि गर्दै आएका छन् ।

विकास समितिका अध्यक्ष शाहीको नेतृत्वमा विगतमा ड्रिम फाप्ला अभियान सञ्चालन भएको थियो । फाप्लामा क्रिकेट रंगशाला निर्माणलाई प्रदेश गौरवको योजनाका रुपमा प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि बजेट विनियोजन गर्दै आएको थियो तर संघबाट जग्गाको भोगाधिकार नपाउँदा खर्च नभएर बजेट फिर्ता जाने गरेको थियो । विगतमा धनगढी प्रिमियर लिगजस्ता देशकै ठूला क्रिकेट प्रतियोगिता भएको फाप्ला मैदान संरक्षणको अभावमा अलपत्र छ । प्रदेश सरकारको करिब ६० लाख रुपैयाँ लगानीमा मैदान वरिपरी तारवार गरिएको छ तर संरक्षण नहुँदा मैदान गौचरण बनेको छ । जसका कारण क्रिकेट प्रतियोगिताहरु गर्दा मैदान निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको छ ।