कैलालीको धनगढीमा पुल डिजाइन सम्बन्धी इन्जिनियरहरूका लागि ५ दिने तालिम सुरु 
2023/03/29, 2:14
 
तालिम

धनगढी - कैलालीको धनगढीमा इन्जिनियरहरूका लागि पुल डिजाइन र निर्माण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फार्म (स्केफ) नेपालको आयोजनामा पाँच दिने तालिम धनगढीमा सुरु भएको हो । पुल निर्माण गर्दा त्यसको दिगोपनाका साथै पुलको मर्मत सम्भारलगायतका विषयमा इन्जिनियरहरूका लागि तालिम आयोजना गरिएको स्केफ नेपालले जनाएको छ । 

बुधवार स्केफका महासचिव कमल कार्कीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको तालिमको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै सचिव भट्टले अत्यन्त समय सान्दर्भिक तालिमको स्केफ नेपालले आयोजना गरेको बताउनु भयो । आगामी दिनमा यस्ता तालिममा सरकारी तहबाट पनि सहयोग प्रदान गरिने भन्दै भट्टले यस्ता तालिमसँगै इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि समेत प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगत प्रसाद जोशीले यो तालिमबाट अहिले धमाधम निर्माण भइरहेका पुलको गुणस्तर सुधारमा टेवा पुग्ने बताउनु भयो । यस अघि सुदूरपश्चिममा यस्ता तालिमको आयोजना हुन नसकेको बताउँदै उहाँले फलदायी तालिमको आयोजना भएको समेत बताउनु भयो । 

कार्यक्रममा निर्माण व्यवसायी सङ्घका केन्द्रीय सदस्य दिनेशबहादुर सिंह, इन्जिन एसोसिएसनका तर्फबाट लभ राज जोशी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्केफका सुदूरपश्चिम सदस्य यज्ञराज भट्टले स्वागत मन्तव्य राख्दा इन्जिनियर दीपेन्द्र कुमार झाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

नयाँ पुस्ताका इन्जिनियर हरूलाई सीप विकासका लागी तालिम आयोजना गरिएको महासचिव कार्कीले बताउनु भयो । देशभर यस्ता तालिमको आयोजना गर्ने क्रम जारी रहेकाले नयाँ तथा पुराना गरी ३ सय बढी इन्जिनियरलाई तालिम प्रदान गरिने उहाँको भनाई छ । स्केफ नेपाल र एलआरबीएसयूबीको सहकार्यमा तालिम आयोजना गरिएको हो ।