सुदूरपश्चिमका थप ५ क्याम्पसलाई विश्वविद्यालयका आंगिक क्याम्पस बनाईने
2023/04/11, 12:17
 
ss

सुदूरपश्चिमका ५ क्याम्पस विश्वविद्यालयकोे आंगिक क्याम्पस बन्ने भएका छन्। विश्वविद्यालय सभाले यहाँका पाँच क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टले बताए।

उनका अनुसार बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दिप बहुमुखी क्याम्पस, बझाङकै सुनकुडा बहुमुखी क्याम्पस र कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको छ। आंगिक क्याम्पस बनाउने निर्णय भएका क्याम्पसहरुमा अब विश्वविद्यालय अनुदान आयोगसंगै शिक्षा र अर्थ मन्त्रालयमार्फत दरबन्दी स्वीकृतीका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ।

यसअघि सुदूरपश्चिमका १५ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाइएको थियो। विश्वविद्यालयले इन्जिनियरिङसँगै कृषि, कानुनलगायतका विषयमा समेत अध्यापन गराउँदै आएको छ। डडेलधुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि डिन नियुक्तिसँगै भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको छ।

सेमेस्टर प्रणालीमा पठनपाठन सञ्चालन गरिरहेको विश्वविद्यालयले वन विज्ञान पढाउने तयारी पनि गरिरहेको छ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सभाले सबै भन्दा पहिले २०६९ सालमा कैलाली बहुमुखी क्याम्पस र बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय पारित गर्दै स्वीकृतिका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको थियो। २०६८ मा स्थापना भएको विश्वविद्यालयले २०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको हो।