‘अब धनगढी दौडिन्छ धनगढी हाफ म्याराथन २०२३’ को तयारी पुरा
2023/04/12, 6:25
 
ss

‘अब धनगढी दौडिन्छ’  भन्ने मूल नाराका साथ नयाँ वर्षमा हुने जेसिज एभरेस्ट धनगढी हाफ म्याराथन २०२३ को तयारी पुरा भएको छ । नयाँ वर्ष २०८० को अवसरमा धनगढी जेसिजले आयोजना गर्न लागेको म्याराथनको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।धनगढीमा हरेक वर्ष वैशाख १ गतेका दिन आयोजना हुन लागेको म्याराथनको यो नवौँ संस्करण हो ।

प्रतियोगिताका संयोजक मनिस कुँवरले प्रत्येक वर्षजस्तै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता हुन लागेको बताए । धनगढी रंगशालाबाट सुरु हुने दौड प्रतियोगितामा  म्याराथनको खुला दौडका अन्तरगत २१.१ किमी दौडमा प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार तिन सय ३३ र तृतीयलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । यस्तै कर्पोरेट र मिडिया तर्फको ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । 

महिला तर्फ ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको मूल आयोजक समितिका संयोजक कुँवरले जानकारी दिए । यस्तै टाई साइकल रेस पनि गरिने जानकारी दिएका छन् । टाई साइकल रेसमा सहभागीलाई सम्मान सहित पुरस्कार दिइने जनाएको छ । 

जेसिजका अध्यक्ष मोहनराज ओझाले प्रतियोगितामा धावक, नेपाल आर्मी, नेपाल प्रहरी, शशस्त्र प्रहरी लगायत २ सय ५० जनाको नाम दर्ता भइसकेको र स्थानीयहरुको पनि सहभागिता गराउने क्रम जारी रहेको बताए ।  प्रतियोगिताको प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबाट समुदघाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष ओझाले बताए ।  

जेसिजका पूर्वअध्यक्ष पदमविक्रम सिंहले नगरको शिक्षा, स्वास्थ्य, पर्यटन लगायतमा सुधारका लागि धनगढी दौडिन्छ प्रतियोगिता हरेक वर्ष आयोजना गरिन लागेको बताए । उनले भने –‘हरेक क्षेत्रलाई दौडाउन हामीले नयाँ वर्षको शुभारम्भका दिन धनगढी दौडिन्छ प्रतियोगिता गर्ने अवधारणा अघि बढाएका हौं । यो अभियान हरेक क्षेत्रमा सुधार गर्न पनि दबाबमुलक प्रतियोगिता हो ।’