‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ : आज उपाधि भिडन्त 
2023/04/13, 7:37
 
‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ : आज उपाधि भिडन्त 

कैलाली – कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरमा चैत्र २१ गतेदेखि सुरु भएको ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ को उपाधि भिडन्त आज हुँदै छ । गौरीगंगा–११ स्पोर्ट्स क्लबको खेलमैदानमा दिउँसो ३ बजे सुरु हुने फाइनल खेलमा कैलालीको स्टार सिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् । स्टार सिटीले बाँकेको कोहलपुर रेसिङ सहारा क्लबको कारबाही पछि बाइ पाएर फाइनलमा स्थान बनाएको हो भने बर्दियाको नव युवा मैत्री भाव क्लबलाई पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो । उपाधि भिडन्त अघि बुधवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका थिए । 

‘मध्यपश्चिमबाट आएर क्वाटर फाइनल, सेमी जितेर यो रमाइलो यात्रा तय गरेका छौँ,’ फोर ब्रदर्शका टिम कोच धर्मराज भुसालले भने, ‘अब फाइनल पनि जित्ने गरी रणनीति बनाइरहेका छौँ र फाइनल जित्छौँ  पनि ।’ फोर ब्रदर्शका टिम कप्तान विनोद केवटले पनि उपाधि जित्ने गरी खेल्ने बताए । ‘हामी सुरुवाती १०÷२५ मिनेटसम्म केही चुकेर पछि गेम राम्रो बनाउँदै आएका छौ,’ उनले भने, ‘दोस्रो खेलमा त्यो केही सुधार पनि गरेऊ । साथै फिनिसिङ लाइनमा पनि केही कमजोरी भइरहेको छ । अब त्यसलाई सुधारेर उपाधि जित्नेमा विश्वस्त छौँ ।’ उनले प्रतिद्वन्द्वी टिम बलियो भए पनि आफ्ना खेलाडी प्रति आफू विश्वस्त रहेकाले उपाधि जित्ने बताए । 

स्टार सिटीका टिम कोच गजेन्द्र शाहीले उपाधि जित्ने गरी रणनीति बनाइएको बताए । ‘हामीले यो मैदानसँगै अन्यत्र पनि अहिलेकै सेटमा खेल खेल्दै नतिजा निकाल्दै आएका छौँ,’ उनले भने, ‘त्यसैले हामीलाई गाह्रो छैन । हामीले प्रतिद्वन्द्वी टिमको अवस्था हेरेर रणनीति तयार पारेका छौँ ।’ स्टार सिटीका कप्तान सन्दीप कुँवरले आफू यस अघि पनि यो प्रतियोगिताका दुवै संस्करणमा सहभागी भइसकेकालाई सजिलो हुने बताए । ‘होम ग्राउन्ड, होम सपोर्टर भएर पनि खेलमा राम्रो प्रभाव पर्छ,’ उनले भने, ‘तर हामी त्यसो भनेर मात्र हैन राम्रो खेलेर नतिजा निकाल्छौ । पहिलो र दोस्रो संस्करण खेलिसकेको मैदान पनि हो र हामी यस अघि फाइनलिस्ट पनि हो । त्यसैले हामीले बलियो रहेको प्रतिद्वन्द्वीलाई जित्ने गरी खेल्छौँ ।’ 

पत्रकार सम्मेलनमा आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेले दुवै टिमलाई जितको शुभकामनासहित गोल्डकपका आगामी संस्करणहरू थप व्यवस्थित र परिष्कृत बनाउँदै लैजाने बताए । ‘२०७४ सालबाट हामीले यस क्षेत्रका खेलाडी, यो खेल मैदान र युवाहरूको सृजनशीलताका लागि अभियान थालेर यो गोल्ड कप गर्दै आएका छौँ,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य यहाँ एउटा सरकारी मापदण्ड अनुसार स्थानीय तहमा बन्नुपर्ने रङ्गशाला बनाउने हो । साथै यस क्षेत्रका खेलाडीको खेल जीवन र युवाहरूमा बढ्दो लागू औषधको विकराल स्वरूपलाई कम गर्न सकिन्छ भन्ने उद्देश्यले यसको आयोजना गर्दै आएका छौँ ।’ 

उनले प्रतियोगितामा सहभागिता जनाउने १० वटै टिमका खेलाडी तथा व्यवस्थापक, प्रशिक्षक र यस क्षेत्रका सम्पूर्ण  प्रायोजकहरूमा धन्यवाद ज्ञापन गरे । ‘सरकारी स्तरबाट खेल क्षेत्रलाई हेर्नुपर्ने नजरीया सुधार हुन सकेको छैन,’ उनले अगाडी भने, ‘तर पनि हामी यी प्रतियोगिताको व्यवस्थापनलाई बढवा दिने र खेल क्षेत्र तथा खेलाडीको जीवनस्तर उकास्ने अभियानमा अनवरत लागिरहने छौँ ।’

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल बिहीबार दिउँसो ३ बजे सुरु हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।