सुदूरपश्चिमका ५ जिल्लामा हुँदैन विद्यार्थीलाई दिइने पोषण खाजाको गुणस्तरको जाँच
2023/04/15, 1:25
 
ss

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्यार्थीहरूलाई दिइने दैनिक पोषण खाजाको गुणस्तर जाँच नहुने गरेको तथ्य सार्वजनिक भएको छ। शिक्षाका लागि खाद्यान्न परियोजना अन्तर्गत कर्णाली प्रदेशको जाजरकोट र सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङ समेत ६ जिल्लाका विद्यार्थीहरूलाई पोषण खाजाको व्यवस्था गरिँदै आएको छ।

उक्त ६ वटा जिल्लाका २ हजार ४१५ विद्यालयका शिशुदेखि ५ कक्षासम्मका २ लाख ४६ हजार ७५५ विद्यार्थीलाई दैनिक पोषणयुक्त खाजाको रूपमा चामल, दाल, तेल र नुनबाट बनेको खाद्यान्न विद्यालयमै वितरण गर्ने उद्देश्यसहित यो कार्यक्रम विश्व खाद्य कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेको छ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार यो वर्ष २ हजार १८५ मेट्रिकटन चामल, ५४४ मेट्रिकटन दाल, २६३ मेट्रिकटन तेल र ३५ मेट्रिकटन नुन तथा ३० करोड १३ लाख मूल्य बराबरको खाद्यान्न विश्व खाद्य कार्यक्रमबाट प्राप्त भई वितरण भएको छ। वितरण गरिने नुन बाहेकका सबै खाद्य सामग्री अमेरिकाबाट ल्याई नेपालगञ्जस्थित विश्व खाद्य कार्यक्रमको गोदामबाट विद्यालयलाई वितरण हुने गरेको र वितरणमा लामो अवधि लाग्ने गरेको प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदन अनुसार उक्त खाद्यान्नको गुणस्तर परीक्षण गरेको प्रमाण लेखापरीक्षणमा प्राप्त नभएको उल्लेख गरिएको छ। खाद्यान्न खरिद गर्दाको समयमा नै अमेरिकामा गुणस्तर परीक्षण गर्ने र त्यसपश्चात उक्त खाद्यान्न कोलकता हुँदै नेपाल आइपुग्ने अवधि कम्तीमा ६ महिनाको रहने परियोजना कार्यालय भनाईलाई उदृत गर्दै महालेखाले जनाएको छ। खरिद गर्दाको समयमा गुणस्तरयुक्त रहेको खाद्यान्न विभिन्न ठाउँमा भण्डारण हुँदै विद्यालयसम्म पुग्दा मौसम र समयको कारणले गुणस्तर ह्रास हुनसक्ने भन्दै गुणस्तर परीक्षणपश्चात् मात्रै विद्यालयमा खाद्यान्न वितरण गरिनु पर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ।