सुप विश्वबिद्यालयमा समायोजन गरिएका १४ क्याम्पसको दरबन्दी मिलान भएन, आंगिक बनाउन हतार
2023/04/16, 3:14
 
ss

सुदूरपश्चिम विश्वविद्यालयमा एक दशकअघि समायोजन गरिएका १४ क्याम्पसको अझै दरबन्दी मिलान भएको छैन । त्यसपछि २०७४ मा समायोजन गरिएका थप ६ क्याम्पसको दरबन्दी अझै स्वीकृत भएको छैन ।

डेढ सय बढी दरबन्दी स्वीकृत हुन बाँकी र ६० दरबन्दी मिलान हुन नसके पनि आंगिक क्याम्पस थप्ने काम भने धमाधम भइरहेको छ । पछिल्लो पटक चैत २६ मा सम्पन विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहपूर्व बसेको सिनेट बैठकले थप ५ क्याम्पसलाई आंगिक बनाउने विवादास्पद निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले खल्तीबाट नाम निकालेर आंगिक बनाउने निर्णय गरेको आरोप छ । त्यसबेला कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी, बझाङको सुनकुडा बहुमुखी, डडेलधुराको भीमदत्त बहुमुखी, बझाङदीप बहुमुखी र बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय भएको हो ।

‘आंगिकका लागि ६ क्याम्पसले आवेदन दिएका थिए, कुलपतिले पाँच वटालाई बनाउन निर्देशन दिनुभयो,’ सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले भने, ‘यसअघि आंगिक बनाउने निर्णय भएका क्याम्पसको दरबन्दी अझै स्वीकृत भएको छैन ।’ उनले अब दरबन्दी स्वीकृत नभएसम्म आंगिकका लागि निर्णय भए पनि सम्झौता नगरिने बताए । विश्वविद्यालयको सिनेट बैठकलगत्तै सुरु भएको तेस्रो दीक्षान्त समारोहमा उपकुलपति अम्मराज जोशीले विगतमा आंगिक भएका क्याम्पसमा दरबन्दी स्वीकृतिदेखि दरबन्दी मिलानलगायतका काम पूरा गरिदिन कुलपति एवं प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेका थिए ।

‘सुरुमा आंगिक बनाइएका क्याम्पसको अझै दरबन्दी मिलान हुन सकेको छैन, त्यसपछि आंगिक भएका क्याम्पसको दरबन्दी स्वीकृत भएको छैन,’ उनले भने, ‘अन्य भौतिक पूर्वाधारका लागि पनि पर्याप्त बजेटको अभाव छ ।’ विश्वविद्यालयको ऐनमा तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसलाई समायोजना गरेर सुदूरपश्चिम विश्वविद्यालय बनाइने कुरा उल्लेख छ । तर हालसम्म पनि सिद्धनाथ विज्ञान क्याम्पस विश्वविद्यालयमा समायोजन हुन सकेको छैन ।

यस विषयमा समेत त्रिभुवन विश्वविद्यालयसँग आवश्यक छलफल गरी समायोजनका लागि पहल गरिदिन उपकुलपति जोशीले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । २०७४ मा कैलालीका लम्की बहुमुखी र घोडाघोडी बहुमुखी, कञ्चनपुरको भानु बहुमुखी, दार्चुलाको शंकरपुर बहुमुखी, अछामको अछाम बहुमुखी र डोटीको केदारपुञ्ज बहुमुखी क्याम्पसलाई आंगिक बनाउने निर्णय गरेको थियो । ६ वटै क्याम्पसका करिब डेढ सय बढी दरबन्दी स्वीकृत हुन बाँकी छ । त्यतिबेला आंगिक बनाउने निर्णय भएका क्याम्पससँग ०७५ मै सम्झौता भएको थियो । तर हालसम्म दरबन्दी स्वीकृत नभएको विश्वविद्यालयले जनाएको छ । ०६७ मा स्थापना भएको विश्वविद्यालयले ०७० र ०७१ मा सुदूरपश्चिमका विभिन्न जिल्लाका १५ क्याम्पसलाई आंगिक बनाउने निर्णय गरेको थियो ।

तर सम्झौता भने ४ वर्षपछि ०७५ मा भयो । आंगिक बनाउने निर्णयदेखि सम्झौता हुँदासम्मको अवधिमा शिक्षकको बढुवादेखि नयाँ भर्ना भएकाहरूको भने दरबन्दी मिलान हुन सकेन । विश्वविद्यालयले आंगिक बनाउँदा जनशक्तिको हकमा जे जस्तो अवस्थामा छ, त्यस्तैमा समायोजन गर्ने निर्णय गरे पनि हालसम्म अर्थ मन्त्रालयले स्वीकृति नदिँदा दरबन्दी मिलान हुन नसकेको हो । ‘पुराना निर्णय कार्यान्वयन नगरेर फेरि नयाँ निर्णय गर्नु राजनीतिक दबाब मात्रै हो,’ विश्वविद्यालयका पूर्वडिन डा । टेकराज पन्तले भने, ‘क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गतिविधिको अध्ययन नै नगरी धमाधम राजनीतिक दबाबका भरमा आंगिक बनाउने काम विश्वविद्यालयकै लागि ठीक होइन ।’ उनले सुरुमै निर्णय भएका क्याम्पसको हालसम्म दरबन्दी मिलान हुन नसकेको अवस्थामा थप क्याम्पस आंगिक बनाउनु विश्वविद्यालयकै लागि बोझ हुने बताए । १५ आंगिक र केन्द्रीय क्याम्पसमा गरी हाल विश्वविद्यालयमा २३ हजार ३९९ विद्यार्थी अध्ययनरत छन् । ०७४ र पछिल्लो पटक गरी ११ क्याम्पस आंगिक बनाउने निर्णय कार्यान्वयन भएमा विद्यार्थी संख्या अझै बढ्नेछ । अहिले सुदूरपश्चिमका हरेक जिल्लामा कम्तीमा दुईदेखि ४ क्याम्पससम्म आंगिक हुने अवस्था आएको छ । सबैभन्दा बढी बैतडीमा ४ वटा क्याम्पस आंगिक हुने रजिस्ट्रार पाठकले बताए ।