कैलालीमा ३ महिना अवधिमा लागूऔषधका १७१ जना पक्राउ
फरार सूचीका ५६ जना पक्राउ
2023/04/17, 12:05
 
कैलालीमा ३ महिना अवधिमा लागूऔषधका १७१ जना पक्राउ

कैलाली - कैलालीमा तीन महिनाको अवधिमा लागूऔषध विभिन्न मुद्दाका १ सय ७१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चालू आर्थिक वर्षको ३ महिनामा लागूऔषध सम्बन्धी मुद्दामा १ सय ७१ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले गएको माघ, फागुन र चैत्र महिनामा उनीहरु पक्राउ परेको बताए। उनका अनुसारलागूऔषधका ११० मुद्दा परेका थिए । जसमा २१ जना महिला र १५० पुरुष गरि १७१ जना छन् । डिएसपी चन्दले पक्राउ परेकाहरूबाट खैरो हेरोइन ३१४ ग्राम ३७० मिलिग्राम, नाइट्राभेट ५९ ट्याब्लेट,चरेस २६ किलो ४७ ग्राम ९२० मिलिग्राम, स्पास्मो १२१ क्याप्सुल र ब्रुनुफ्रीन ७ ट्याब्लेट बरामद गरिएको बताए।

सोही अवधिमा भन्सार छलेर चोरी निकासी पैठारीमा संलग्न २७ सवारीसाधन र २० जना मानिस पक्राउ परेका छन्। उनीहरुबाट ८१ लाख १३ हजार ४६ रुपैयाँ राजश्व संकलन गरिएको छ। यसैगरी सवारीसाधन नियम विपरित चलाई ट्राफिक नियम उलंघन गर्ने सवारीधनिबाट ७१ लाख ७२ हजार ५ सय जरिवाना गरिएको डिएसपी चन्दको भनाई छ। कैलाली अदालतबाट विभिन्न मुद्दामा फैसला भइ फरार रहेका ५६ जनालाई समेत पक्राउ परेका र पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कैलालीमा बुझाएको समेत बताइएको छ।