सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै
2023/04/17, 4:44
 
ss

सुदूरपश्चिममा केही दिनयता कोरोना संक्रमण बढेको छ । विगत १३ दिनको अवधिमा यहाँ दुई सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमित एक जनाको मृत्यु भएको छ । नयाँ वर्ष र बिसु मनाउन भारतबाट घर फर्कनेहरु बढेसँगै कोरोना संक्रमण देखिन थालेको हो । यहाँ कोरोना संक्रमण देखिएकामध्ये अधिकांश भारतबाट फर्केकाहरु हुन् । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत २१ चैतयता दुई सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक सय ९२ जनामा नाकामै गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको निर्देशनालयका कोरोना सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । अहिले भारतमा कोरोना संक्रमण बढेकाले त्यहाँबाट फर्कनेहरुमा पनि संक्रमण देखिन थालेपछि सुदूरपश्चिममा पनि संक्रमण दर बढेको जोशीले बताए । केही दिनअघिसम्म सुदूरपश्चिममा संक्रमण दर शून्य थियो । नयाँ वर्षसँगै नयाँ वर्षको पहिलो दिन मनाइने सुदूरपश्चिमको मौलिक पर्व बिसुका लागि यहाँका विभिन्न नाका भएर दुई साताको अवधिमा करिब १५ हजार जना स्वदेश फर्किएका निर्देशनालयको तथ्यांक छ । दुई साताको अवधिमा भारतबाट फर्कनेमा समेत गरी करिब नौ हजार जनाको पीसिआर एण्टिजेनमार्फत कोरोना परीक्षण गरिएको जोशीले जानकारी दिए । 

स्वास्थ्यमा जटिलता उत्पन्न भइ संक्रमितहरु अस्पताल भर्ना हुने दर भने न्यून छ । भारतबाट फर्कनेमा संक्रमण देखिन थालेपछि सीमा नाकाहरुमा कोरोना परीक्षण बढाइएको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा भारतसँगका प्रमुख नाका गड्डाचौकी र त्रिनगरसहित प्रदेशभरि पाँच वटा नाकास्थित हेल्थ डेस्कबाट कोरोना परीक्षण भइरहेको छ । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । एक सातादेखि उपचाररत कञ्चनपुरकी ७३ वर्षीया महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । अस्पतालका बरिष्ठ फिजिसियन डा। शेरबहादुर कमरका अनुसार ती महिला मुटुसम्बन्धी रोगबाट पीडित थिइन् । बिरामी भएपछि गत २४ चैतमा उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । २६ चैतमा कोरोना संक्रमण रहेको पुष्टि भएकी ती महिलालाई अस्पतालको कोभिड वार्डको आइसीयुमा राखेर उपचार थालिएको थियो । कोरोना भाइरसको संक्रमण सामान्य अवस्थामा पुगेपछि सुदूरपश्चिममा करिब एक वर्षयता संक्रमितको मृत्यु दर शून्यमा झरेको थियो ।