बाजुरामा ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प
2023/04/18, 10:54
 
ss

बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भूकम्प गएको छ। नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ।

ती भूकम्पबाट प्रभावित बनेकाहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन। उनीहरू त्रसित छन्। सुदूरपश्चिम प्रदेशमा ७ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १० वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ। कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास  केन्द्रविन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए।

शर्माका अनुसार देशभरका अनुपातमा सुदूरपश्चिममा धेरै भूकम्प गइरहेको हो। यसकारण पनि सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको उनले बताए। सोमबार दिउँसो ४ बजेर १ मिटेट  जाँदा बडिमालिका केन्द्रविन्दु भई ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ।

देशका पश्चिमी भागमा गएका १५ भूकम्पमध्ये सबैभन्दा बढी बाजुरामा ६ पटक भूकम्प गएको छ। कात्तिक २२ गते डोटी केन्द्रविन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो। विभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरू चर्किनुका साथै बस्न अयोग्य भएका छन्। भूकम्प प्रभावितहरू कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य छन्।

१५ वटा भूकम्पमध्ये ११ सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन्। चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्रले जनाएको छ। कार्तिक महिनामा डोटी जिल्लामा स्थानीय म्याग्निट्यूड ६ दशमलव ६ को शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प जमिनको सतहभन्दा २७ दशमलव ३ किलोमिटर तल उत्पत्ति भएको हो।

गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६ दशमलव ६ को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भयो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले डोटीमा भूकम्प गएपछि धेरै परकम्पहरू मापन गरिएको बताएकी थिइन्। तर उनका अनुसार बाजुराको भूकम्प ‘परकम्प नभई छुट्टै भूकम्प’ थियो। पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्।