सुदूरपश्चिमका ५ जिल्लाका ७ ठाउँमा डढेलो
2023/04/20, 12:18
 
ss

देशका ३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ । यस्तै सुदूरपश्चिमका ५ जिल्लाका ७ ठाउँमा डढेलो लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । डोटी र कैलालीका दुईरदुई ठाउँमा डढेलो लागेको छ भने कञ्चनपुर, डडेल्धुरा र अछामका एकरएक ठाउँमा डढेलो लागेको वन मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तराईदेखि मध्य पहाडी वनजङ्गलसम्ममा डढेलो लागेको छ । प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माका अनुसार कतिपय जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्ने जोखिमसमेत बढेको छ । नेपालमा यस वर्ष तुलनात्मक रूपमा डढेलोको जोखिम बढी रहेको पनि शर्माले बताए । हिउँदमा पानी कम परेको र गएको वर्ष कम डढेलो लाग्दा जङ्गलमा इन्धन बढी भएकोले यो वर्ष जोखिम बढी भएको उनले बताए ।

यस्तै, डढेलोका प्रायः सबै घटना मानवीय कारणले हुने गरेका छन् । केही दुर्घटनावश भए पनि धेरैजसो घटना लापारबाहीका कारण हुने गरेका छन् । झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताए ।

डढेलोका कारण मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ । सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् ।