अस्पतालले पेटमा प्वाल पारेर शल्यक्रिया गर्न सकिंदैन भनेपछि......
2023/04/20, 3:35
 
ss

धनगढीको केजी हस्पिटलमा चिकित्सकहरुले पत्थरीको बिरामीको पेटमा प्वाल पारेपछि शल्यक्रिया गर्न नसकिने भन्दै छाडेका छन् । बुधबार अस्पताल भर्ना भएकी डडेल्धुरा आलीताल गाउँपालिका ३ की ६० वर्षीया लक्ष्मी बोहराको पित्तथैलीमा रहेको पत्थरी निकाल्न पेटमा प्वाल पारेपछि जोखिमपूर्ण हुने भन्दै चिकित्सकहरुले त्यसै छाडेको छोरा लक्ष्मणले बताए ।

बिहीबार साँझ अप्रेशन थियटरमा लगिएको तर डाक्टरले पेटमा प्वाल पारेपछि शल्यक्रिया गर्न नसकिने भन्दै औषधि दिएर घर लैजान भनेका हुन् ।  ‘अस्पतालले आमाको यहीँ उपचार भइहाल्छ अन्त लैजानुपर्दैन भनेर मैले अप्रेशन गर्न मानेको हुँ, तर आधा अप्रेशन गरेर यहाँ गर्न सकिदैन, यो भन्दा अगाडि रिस्क छ भनेर घर लगेर जाउ । दुई महिनापछि काठमाडौं वा बैंलोरको राम्रो अस्पतालमा देखाऊ भन्नुभयो’, बोहराले भने ।

बोहराले आमाको पेटमा पारिएको प्वालले दुई महिनासम्म स्वास्थ्यमा समस्या देखिए अस्पतालले जिम्मेवारी लिनुपर्ने र उपचारमा अहिलेसम्म लागेको सबै शुल्क फिर्ता पाउनुपर्ने माग गरेका छन् । उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका व्यवस्थापक सर्जन डा. दीपक सिंहले दूरबिन विधिबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढी देखिएपछि जोखिमपूर्ण हुने भएकाले रोकिएको बताए ।

‘उहाँ पेट दुख्ने समस्या लिएर आउनुभएको थियो । पित्तथैलीमा पत्थरी देखिएपछि उहाँहरुकै सहमति लिएर दूरबिन विधिबाट शल्यक्रिया गर्न खोजेका थियौं तर आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढी देखिएपछि जोखिम हुने भएकाले औषधि दिएर ७/८ हप्तापछि गर्दा ठीक हुन्छ भन्ने सल्लाह दिएका हौं’, डा. सिंहले भने ।

बिरामीकै आफन्तले दुई महिनापछि अन्य अस्पतालमा लैजाँदा हुन्छ कि हुदैन भनेर जिज्ञासा राखेपछि काठमाडौं वा भारतमै लगेर पनि गर्न सकिने सल्लाह दिएको तर रेफर भने नगरेको बताए । ‘उहाँहरुले नै जिज्ञासा राखेपछि हामीले व्यवहारिक रुपमा उहाँलाई लैजाँदा हुन्छ भनेर सल्लाह दिएका हौं । तर तत्काल ज्यानको जोखिम हुने भएकै कारण शल्यक्रिया गर्न नसकिने भनिएको हो । यसमा अन्यथा केही होइन’, डा. सिंहले भने ।