सेती अस्पतालमा पहिलो पटक दूरबिन बिधीबाट मृगौलाको शल्यक्रिया
2023/04/21, 11:32
 
ss

सदूरपश्चिको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अपतालमा पहिलो पटक दूरबिन विधिबाट मृगौलाको शल्यक्रिया गरिएको छ। कैलालीको कैलारी गाउँपालिकाकी ४९ वर्षीया एक महिलाको बुधवार शरीरमा सानो प्वाल पारेर मृगौलाको शल्यक्रिया गरिएको हो।

सेती अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर सुरेन्द्र बस्नेत नेतृत्वको टिमले पत्थरीका कारण बायाँ मृगौला काम नलाग्ने भएको अवस्थामा दूरबिन विधिबाट पहिलो पटक सेतीमा सफल शल्यक्रिया  भएको बताए। बुधवार शल्यक्रिया गरिएकोमा आज शुक्रवार बिरामीलाई डिस्चार्ज गरिने डाक्टर बस्नेतले बताए।

काठमाडौंको वीर अपतालबाट एमसिएच युरोलीजी गरेका डाक्टर बस्नेतसँगै डाक्टर जोनस तिवारी, डाक्टर कपिल गौतम, डाक्टर दिपेशद श्रेष्ठ, क्षितिज विक्रम र नर्सिङमा सनिता कोइराला, पविता कोइराला, लक्ष्मी उपाध्याय, जनाकी पाण्डे, लालु डगौरा र रमैया चौधरीको समुह पनि संलग्न रहेको थियो।

दूरबिन विधि अर्थात ल्यापरोस्कोपिक सर्जरी गर्दा रगत कम बग्ने हुँदा बिरामीलाई रगत चढाउनु नपर्ने, बिरामीलाई दुखाई कम हुने र छिट्टै हिड्डुल गर्न सक्ने, शरीरमा दाग नहुने, संक्रमणको जोखिम कम हुने र अस्पतालबाट दुई दिनमै घर जान मिल्ने डाक्टर बस्नेतले बताएका छन्।

योसँगै सेतीमा अबदेखि दुरविन विधिबाट मृगौलाको शल्यक्रिया सुरू भएपछि मृगौलाको शल्यक्रिया गर्नुपर्ने बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ।