सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालोमा हुन्छ : खगराज भट्ट
दुई–तीन दिनमा समझदारी बन्ने दाबी
2023/04/22, 12:33
 
सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालोमा हुन्छ : खगराज भट्ट

कैलाली - सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारको नेतृत्व आलोपालोमा जाने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका भट्टले पत्रकार सँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘आलोपालोमा जाने कुरा पनि केन्द्रकै हो। आलोपालोमा सहमति हुन्छ । यसमा कांग्रेसले बाधा अड्चन ल्याउँदैन। मुख्यमन्त्री पनि सकारात्मक नै रहेको उनले बताए ।’ मुख्यमन्त्रीको कार्यकाल कति रहने भन्ने कुरा गठबन्धनका शीर्ष नेताहरु बसेर टुंग्याउने पनि उनले बताए । अब दलहरुले आफ्नै अस्तित्व रक्षाका लागि जनताका माग सम्बोधन गर्नुपर्ने पनि भट्टले औंल्याए ।

यस्तै माओवादी केन्द्रका नेता भट्टले प्रदेश सरकारले भोलिको उपनिर्वाचनपछि पूर्णता पाउने बताएका छन्। प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गर्न छलफल र बहस भइरहेको बताए । कतिपय कुराको टुंगो लगाउन बाँकी रहेकाले दुई–तीन दिनमा समझदारी बन्ने उनले दाबी गरेका छन्। भोलिको उपनिर्वाचनपछि यसले ठोस आकार लिने बताए।

उनले मुख्यमन्त्री नियुक्त भएको दुई महिना पुरा भैसकेको र उपनिर्वाचनपछि बढी ढिला गर्न नहुने बताए। नेता भट्टले प्रदेश सरकारलाई विश्वासको मत दिने सबैजसो दल सामेल हुने पनि बताएका छन् । भट्टले भने, ‘अहिलेको गठबन्धनमा हामी तीनचारवटा दल छौं। मन्त्रिपरिषद् कस्तो बनाउने, कुन कुन मन्त्रालय क–कसले पाउने भन्ने छ, उनले भने। नीति कार्यक्रम र बजेट कसरी ल्याउने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको उनले बताए ।’ संघ सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा पनि सामेल हुने विश्वास उनले व्यक्त गरेका छन्।डडेल्धुरा प्रदेश सभा (१) बाट निर्वाचित भट्ट माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् ।