कैलालीको मोहनालगायत कर्णाली र गेरुवा नदीमा डल्फिनको अध्ययन
2023/04/22, 5:31
 
ss

कैलालीको मोहना लगायत कर्णाली र गेरुवा नदीमा डल्फिनको अध्ययन गर्न लागिएको छ। तरङ्ग रेकर्ड गर्ने पेसिब मेसिन प्रयोग गरेर मोहना, कर्णाली र गेरुवा नदीमा स्वच्छ जलीय जीव डल्फिनको अध्ययन गर्न लागिएको हो।

त्यसको लागि कर्णाली नदीको चार, गेरुवा नदीको दुई र मोहना नदीको एक ठाउँमा दुई महिनाका लागि मेसिन डुबाइएको डल्फिन संरक्षण केन्द्र, कैलालीका सचिव विजयराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार वन तथा भू–संरक्षण विभागको सहयोगमा विश्व वन्यजन्तु कोष तराई भू(परिधि नेपाल कोहलपुरले स्थानीय डल्फिन संरक्षण केन्द्रको सहकार्यमा नदीहरुमा मेसिन राखेको हो। मेसिन इङ्ग्ल्याण्डका वैज्ञानिक निकले उपलब्ध गराएको थियो ।

विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनले पानीमा तरङ्ग छोड्ने गर्दछन्। डल्फिनले पानीभित्र आवाजको तरङ्गमार्फत आफ्नो मार्ग सुनिश्चित गर्ने, आहारा प्रजातिको पहिचान, खतराको पूर्व आँकलन, समूहको साथ साथ रहने र सम्भावित अप्ठ्याराकोबारेमा जानकारी लिने गर्दछन्। डल्फिनले आफ्नो निधारबाट छोडेको आवाज र तरङ्गलाई पेसिब मेसिनले मेमोरी कार्डमा रेकर्ड गर्ने गरेको जनाइएको छ। पानीमा डुबाएपछि पेसिव मेसिनले डल्फिनको तरङ्ग ग्रहण गर्ने गर्दछ। मान्छेले सुन्न छोडेको स्थानबाट पेसिब मेसिनले सुन्न सुरु गर्ने गरेको श्रेष्ठले बताए ।

‘यसको प्रयोगबाट डल्फिन कहाँ, कति दूरीमा, कस्ता छन् भन्ने कुराको तरङमार्फत जानकारी लिन सकिन्छ’, उनले भने । केहि दिनपछि मेसिनको मेमोरी फेर्ने जनाइएको छ। नौ वटा मेसिन राख्नु पर्ने कार्यक्रम रहे पनि तत्काल सात वटा मेसिन राखिएको र दुई वटा राख्न बाँकी रहेको डल्फिन संरक्षणकर्मी एवम् डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । उनका अनुसार कर्णाली नदीमा चिसापानीस्थित पितमारी, अरुणफाँटा, टीकापुर नगरपालिका–८ श्रीलङ्का, सत्ती पुल क्षेत्रमा पेसिब मेसिन राखिएको छ।

यस्तै, राजापुर नगरपालिका–३ तिघ्रा र कोठियाघाटस्थित गेरुवा नदीमा मसिन डुबाइएको छ। मोहना नदीको खक्रौला भन्सार पुल क्षेत्रमा पनि मेसिन राखिएको छ। बाँकी दुई वटा मेसिन बर्दिरा राष्ट्रिय निकुञ्जबाट अनुमतिपछिमात्रै निकुञ्ज क्षेत्रमा राखिने कुरो भएको ढुङ्गानाले जानकारी दिए । त्यस्तै, कैलालीको मोहना लगायत अन्य नदीमा वर्षा याममा मेसिन राखिनेछ। यो मेसिनको प्रयोगले कहाँ(कहाँसम्म डल्फिन पाइन्छन् भन्ने कुराको पनि जानकारी प्राप्त हुने उनले बताए ।