अछाममा मेयरले पसलका सामान सडकमा फ्याँकिदिएपछि......
2023/04/23, 2:01
 
ss

मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा निर्णय विपरीत व्यवसाय संचालन गर्ने व्यापारी विरुद्ध मैदानमा उत्रिएका छन् ।नगरपालिका तथा सरोकारवालाको निर्णयलाई अटेरी गर्ने व्यापारी विरुद्ध उनी मैदानमा उत्रिएका हुन् ।

बजारलाई सफा सुग्घर र व्यवस्थित बनाउन बजार क्षेत्रमा तरकारी ,फलफूल तथा मासुजन्य व्यापार व्यवसाय हाट बजारमा मात्रै संचालन गर्ने गराउनेबारे पटक पटक निर्णय र आग्रह पश्चात् पनि अटेरी गर्ने विरुद्ध मैदानमा उत्रिएका मेयर बोहराले शुक्रवार व्यापारीले बिक्रीका लागी मंगलसैन बजार क्षेत्रको पसल अगाडी राखेका फलफूल तथा तरकारी सडकमा मिल्काएका छन् ।

महोत्तरीका ५८ वर्षीय भोला चौधरी ३२ वर्षदेखि सुदूरपश्चिममा व्यापार व्यवसाय गर्दै आएका छन् । १० वर्ष डोटीमा ब्यापार गरेका भोला २२ वर्षदेखि अछामको सदरमुकाम मंगलसेनमा छन् । भोलाले मंगलसेनको बीच बजारमा तरकारी र किराना पसल चलाउँदै आएका छन् । उनकै पसलको बाहिर राखिएको तरकारी र फलफूल मंगलसेन नगरपालिकाका मेयर बोहराले शुक्रबार एकाएक सडकमा फ्याँकेपछि अहिले सामाजिक संजाल तातेको छ।

मंगलसेन नगरपालिकामा दोस्रो पटक पनि निर्वाचित भएका मेयर बोहराले फलफूल र तरकारी सडकमा फ्याँकेपछि विरोध भइरहेको छ। कतिपयले बजारलाई व्यवस्थित र सफा सुग्घर बनाउन नगरले गरेको निर्णय अटेरी गर्ने व्यापारी विरुद्ध यो कदम चाल्नु उचित भएको प्रतिक्रिया दिँदै आएका छन् भने केहीले यो कदमले गरिखाने वर्ग अन्यायमा परेको बताएका छन्। नगर प्रमुख पदम बोहराले भने पटक पटकको आग्रह अटेर गरेपछि मंगलसैन बजारमा बिक्रीका लागी राखिएका फलफूल तथा तरकारी सडकमा फाल्न बाध्य भएको बताएका छन् ।मंगलसेन नगरपालिकाले तरकारी, फलफूल र मासु पसल संचालनका लागि छुट्टै स्थान तोकेको र पटकपटक अटेर गरेपछि बाध्य भएर सामान नै सडकमा फाल्नुपर्ने अवस्था आएको मेयर बोहराले बताए ।

‘बजारमा तरकारी व्यवसाय गर्दै आएका सबै व्यापारी नगरपालिकाले संचालन गर्दै आएको ठाउँमा गएका छन् । भोलाजीले पटकपटक नगरपालिकाको निर्णय अटेर गरे । नियम सबैका लागि बराबर हुन्छ , उनको सामान यसअघि ५ पटक जफत गरेका हौं, पटकपटक चिठी पठाउँदा पनि मानेनन्,’ बोहराले भने ,‘घरेलु तथा साना उद्योग कार्यालयले पनि नियम मिचेको भन्दै १० हजार जरिवाना गराएको थियो ।’शुक्रबार मंगलसेन नगरपालिका ४ का अध्यक्ष नाम सिंह धामी र आफूसँगै भएको बेला तरकारी बजारमा जान सुझाएको बेला चौधरीले तथानाम गाली गरेको मेयर बोहरा बताउँछन् ।


‘भोलालाई सम्झाउँदै गर्दा एकाएक तथानाम गाली गरे । त्यसपछि त्यो सामान रिसले नै फालेको हुँ,’ उनले भने ,‘पहिले पनि म नगर प्रमुख भएको बेला धेरै पटक सम्झाएको हुँ । यहाँ काम गर्न कठिन छ । मंगलसेन बजारलाई व्यवस्थित बनाउन लागेको हौं । कोही पनि सहयोग गर्दैनन् ।’ पहिलो कार्यकालमा नगर प्रहरी भर्ना गर्नका लागि आवेदन दिए पनि अहिलेसम्म प्रक्रिया अगाडि नबढाएको उनी बताउँछन् । ‘ब्यापारी अटेर गर्ने भए । अब तत्काल नगर प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने। नगरपालिकाले हाट बजार बाहेक अन्त फलफूल जन्य,तरकारी जन्य र मासुजन्य वस्तुहरू बिक्री नगर्न पटक पटक सूचना जारी गर्दै अल्टिमेटम दिए पनि सूचनाको अटेर गरेपछि आफूले बाध्य भएर तरकारी तथा फलफूल सडकमा फालेको उनको भनाई छ ।

मंगलसैन नगरपालिकाले यसअघि पनि नगरपालिकाको निर्णयको अटेर गरि बजारमा बिक्रीमा राखिएका फलफूल नियन्त्रणमा लिई धेरै पटक जिल्ला अस्पतालमा उपचाररत बिरामी तथा जिल्ला कारागारका कैदी वन्दिहरुलाई बितरण गरेको मेयर बोहराले उल्लेख गरेका छन्। आफू विगत देखी नै जिल्लाको सदरमुकाम समेत रहेको मंगलसैन बजारलाई व्यवस्थित बनाएर लैजानु पर्छ भन्ने मान्यताका साथ अघि बढिरहेको मेयर बोहराले बताएका छन् । व्यवसायी भोला चौधरीले भने ७७ हजार बराबरको तरकारी र फलफूल मेयरले सडकमा फ्याँकेको बताए। तर अरु व्यवसायीको फलफूल तथा सामान भने मेयरले केही नगरेको भन्दै आफूमाथि पूर्वाग्रह राखेको उनको गुनासो छ ।‘यहाँ म मात्रै यसरी ब्यापार गरिहेको होइन, अरु पनि छन् तर पूर्वाग्रही ढंगले मेयर पदम बोहराले मेरो सामान सडकमा मिल्काए,’ उनले मैले कसैलाई तथानाम गाली नगरेको बताए । यो सबै आरोप मात्रै हो। आफू अन्य व्यापारी जस्तै मण्डी जान तयार भएको तर नगरपालिकाले मण्डी व्यवस्थापन नगरेको उनले गुनासो गरे। ‘मण्डीमा भाडा मात्रै महंगो छ । अन्य सेवा सुविधा केही छैन । नगरपालिकाले मलाई मात्रै दोषी देख्यो । मेरो सामान सडकमा फालियो। मलाई कुनै मौका नदिएर ममाथि अन्याय गरेको उनले भने । ‘नियम सबैलाई लागू हुनुपर्ने भएपनी आफुलाई मात्रै किन यस्तो गरियो भन्ने बारेमा बुझ्न नसकेको उनले बताए ।