कृषि मार्ट खोलेर उज्ज्वल भविष्य खोजिरहेका उज्ज्वल
2023/04/25, 10:49
 
ss

कैलाली जिल्लामा पछिल्लो समयमा सुपर मार्केटहरू खुल्ने क्रम बढ्दै गएको छ । जिल्लाका सहरी क्षेत्रहरूसँगै गाउँमा पनि आधुनिक मार्टहरु खुल्न थालेका छन् । धनगढी उपमहानगरपालिका क्षेत्रमा मात्र करिब आधादर्जन सुपर मार्केट सञ्चालनमा छन् । सञ्चालनमा आएकामध्ये व्यक्तिगत तथा सामूहिक लगानीमा केही सञ्चालनमा छन् भने केही मार्ट तथा सुपर मार्केटहरू निर्माण हुँदैछन् ।

कृषिमा पनि सम्भावना देखेर उज्वल बुर्लाकोटीले करिब ५ करोड लागतमा नेपालमै आधुनिक कृषि मार्ट सञ्चालनमा ल्याएका छन् । लामो समय आफ्नै पसलमा अनुभव बटुल्दै आएका उनी बुवाको सपना पुरा गर्न आधुनिक कृषि मार्ट सञ्चालनमा ल्याएको बताउँछन् ।  उमेरका हिसाबले सानै हुँदादेखि नै पसलमा बस्दा बिजनेस आईडिया जेनेरेट भयो, उनले भने, 'पछि विस्तारै पढाइमा व्यस्त हुनथालेँ, पहिलो प्राथमिकता पढ्नु भएकाले पढाइ पुरा गरें ।'

धनगढीमा ३५ वर्षदेखि कृषि तथा एग्रोभेट सञ्चालन गर्दै आएका उनका बुबाले विदेश भ्रमणमा गएको बेला देखेको सपना पुरा गर्न मार्ट सञ्चालनमा ल्याएका हुन् । 'बुवा भ्रमणमा विभिन्न देश जाँदा त्यहाँ यस्तो मार्ट देख्नुभएको रहेछ, एक दिन पारिवारिक छलफलका क्रममा भने, 'मैले पनि त्यसमा सम्भावना देखें र सञ्चालन गर्ने कुरामा सहमति जनाएँ', उनले भने । उनले बुबा विष्णु बुर्लाकोटीको संरक्षणमा आधुनिक कृषि मार्ट सञ्चालनमा ल्याएका हुन् । 

लामो समय आफ्नै पसलमा सुपरभाइजर भएर काम गर्दा मान्छेहरुको जमातमा आफूलाई चिनाउन नपाएको भन्दै स्कुलमा पढाउन सुरु गरेको उनी सम्झन्छन् । 'मान्छेलाई पब्लिक इन्टर्याक्सन बढी मनपर्छ, म सुपरभाइजर भएर काम गरिरहँदा त्यसको कमि महसुसभयो, मेरो उद्देश्य बिजनेसलाई सर्कुलेट गर्नुथियो, त्यसै क्रममा कम्युनिकेसन स्किल बढाउन म स्कुलमा पढाउन थालें।' करिब ३ वर्ष स्कुलमा पढाएको कम्युनिकेसन स्किल बोकेर २ महिना अघि उनले आधुनिक कृषि मार्ट सञ्चालनमा ल्याए । 

उमेरको हिसाबले आफू ३० मुनिको भएर पनि यसरी निर्माण गरिएको मार्टमा सबैको साथ र सहयोग पाएको बुर्लाकोटीले अनुभव सुनाए। पढेका युवाहरु अस्ट्रेलिया, अमेरिका नै जानुपर्छ भन्नेहरुलाई नेपालमा नै केही गरेर देखाउने उनको योजना छ ।

'पढाई सक्ने वित्तिकै विदेशिने युवाहरूलाई आधुनिक कृषि व्यवसायमा पनि सम्भावना छ, उनीहरुले पढेर जानेका सीप यहीँ उपयोग गरी आधुनिक कृषिमा सहभागी बनाउने उद्देश्यले मार्ट सञ्चालन गरेका हौं', सञ्चालक बुर्लाकोटीले भने । युवाले नै सञ्चालनमा ल्याएको देखेपछि युवाहरू यसतर्फ आउनसमेत सहज हुने उनले बताए । रोजगारीका लागि विदेशिने युवाहरूलाई विदेश जान लाग्ने रकम यही लगानी गरेर व्यवसायी बन्न सकिन्छ भनेर प्रेरणासमेत दिने उनले बताए । 

किसानहरुले कृषि उपजमा सहुलियत खोज्नु, बजारीकरणको सही व्यवस्थापन नहुनुजस्ता कारणले उपभोक्ताले एकै ठाउँमा चाहेको वस्तु नपाउने समस्या रहेकाले उत्पादन कर्ता र उपभोक्ताको मनोभावनाको गहिरो विश्लेषणमार्फत मार्ट स्थापना गरेको उनले सुनाए । 

विशेषगरी किसानलाई व्यवसायीकरण गराउँदै उपभोक्तालाई स्वस्थकर र गुणस्तरीय खाद्य सामाग्री उपलब्ध गराउने, बीउ–बीजन, मलखाद तथा कृषि उपकरण सुपथ मूल्यमा उपलब्ध गराउने, अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने, कृषि र भेटेरिनरीसम्बन्धी परामर्श दिने, लोप हुँदै गएका स्थानीय परिकारका खाना उपलब्ध गराउने लक्ष्य र योजना उनको हो ।

मार्टमा के पाइन्छ ?

उनको मार्टमा बीउ बीजन, कृषि तथा भेटेरिनरी औजार उपकरण तथा मेसिन, ताजा तरकारी तथा फलफूल, फ्रोजन मिट तथा माछा, कृषि,वन लघु उद्यम र घरेलु उद्योगबाट उत्पादित हस्तकलाका सामग्री पनि पाइन्छ । उनले यहाँ डेरी तथा सुदूरपश्चिमका मौलिक र परम्परागत खाजा र खाना तथा माणा, मासको बारा, मकै र कोदोको रोटी, सेल रोटी, ढिक्रीलगायतका परम्परागत सुदूरपश्चिमेली खाना र खाजाका परिकार पाइने बताए ।

त्यसका अलावा मार्टमा दही चिउरा, खीर, फापरको रोटी, पहाडी अर्गानिक आलुको परिकार, केराको अचार र केरा-कफ मःम, टिमुरको अचार, पकौडा, सिन्कीको अचार, कुपिण्डो-कफ मिठाई र ढिँडोको स्वाद लिन पाइनेछ। मार्टले तालिम तथा सेमिनार हलको सुविधासमेत रहेको छ भने अर्ग्यानिक तथा ताजा तरकारी, फलफूल र अन्य खाद्य सामग्री पनि पाइन्छ । परम्परागत ज्ञान र प्रविधिसहितको कृषि सङ्ग्रहालय पनि राखिएको छ । 

सुदूरपश्चिममा मात्र नभएर नेपालकै एकै छाना मुनि कृषि उपज पाइने पहिलो मार्ट भएको उनले जिकिर गरेका छन् । सबै सामान एकै छाना मुनि दिन पाउँदा बुबाको सपना पुरा गरेको अनुभव सुनाउँदै उनी भन्छन्, 'युवाहरुमा केही काम गर्न धैर्यता नै हुँदैन भनेर सुन्दै आउँदा त्यसलाई परिवर्तन म आफैँबाट गरूँ कि भन्ने थट भित्रबाट आउँछ, साथीभाईले विदेशबाट यति कमाए, उति कमाए भनेको सुन्दा आफू पनि जाउँ कि लाग्छ, अनि फेरि बल्लतल्ल मनलाई सम्झाउँछु ।'

उनी आफू भने कम्प्युटरका विद्यार्थी हुन् । आफ्नो सीप विदेश गएर लगाउनुभन्दा आफ्नै आधुनिक मार्टलाई आधुनिक तरिकाले अगाडि बढाउन साथीभाईले लागेका छन् । दराजदेखि विभिन्न इकमर्स साइटमा आफ्नो सामानहरु पाउने उनले बताए । सीप र क्षमता भएका युवाहरुले विदेश गएर मात्र कमाउन सक्छ भन्ने कुरा सबै युवाले सोच्नुपर्ने उनले बताए । उनले आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउन सीप  र क्षमता भएका  युवाहरुलाई आग्रह पनि गरे । आधुनिक कृषि प्रणालीमा चाहिने मेसिनरी औजार तथा उपकरणहरु युवा वर्गले चासो दिएर उत्पादन गरे बजारीकरण गर्न आफ्नो कृषि मार्टले सक्दो सहयोग गर्ने बताए ।  बिजपाटीबाट