यु–१६ राष्ट्रिय क्रिकेटको सेमिफाईनल समिकरण पुराः मधेश, लुम्बीनी, बागमती र कोसी अन्तिम चारमा प्रवेश
2023/04/27, 7:35
 
ss

कैलालीको धनगढीमा जारी एनआईबीएम सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आज भएका लिग चरणका दुई खेलको नतिजासँगै अन्तिम चारमा पुग्ने टोलीहरुको टुंगो लागेको हो । 

समुह ए को विजेता हुदैं मधेश प्रदेश र उपविजेता हुदैं लुम्बीनी सेमिफाईनल प्रवेश गरेको छ । समुह बी को विजेता बन्दै बागमती प्रदेश र उपविजेता हुदैं कोसी प्रदेश सेमिफाईनलमा पुगेको छ । मधेश प्रदेशले सुदुरपश्चिम, कर्णाली र लुम्बीनीलाई हराएर समुह ए को विजेता बनेको हो । उपविजेता बनेको लुम्बीनीले कर्णाली र सुदुरपश्चिमलाई परािजत गरेको हो । समुह ए मा रहेको सुदुरपश्चिमले कर्णाली प्रदेशमाथि मात्रै जित निकाल्दा कर्णाली प्रदेश भने अंक विहीन भयो । 

समुह बी मा बागमति प्रदेश रनरेटका आधारमा समुह विजेता बन्दा समान अंक भएको कोसी प्रदेश रनरेटमा पछि पर्दै उपविजेता बन्यो । समान अंक नै रहेको गण्डकी भने रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो । तीन वटै टोलीले एकमा जित हात पार्दा एकमा हार व्यहोरेका थिए । बागमतिले गण्डकीलाई जित्दा कोसीसँग हारेको थियो । कोसी गण्डकी प्रदेशसँग पराजित हुँदा बागमतिसँग विजयी भएको थियो । 

आज फाप्ला खेल मैदानमा भएको खेलमा जित हात पार्दै लुम्बीनी र मधेश प्रदेशले अन्तिम चारको यात्रा तय गरे ।  पहिलो खेलमा लुम्बीनीले कर्णाली प्रदेशमाथि ९० रनको प्रभावशाली जित हासिल गर्यो । खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बीनी प्रदेशले २९ दशमलव २ ओभरमा सबै विकेट क्षतिमा १७९ रन बनायो । लुम्बीनीका लागि प्रतिक भट्टराईले ३७ रन, आशिष ओलीले ३३ रन र आरिफ खानले ३१ रन बनाए । कर्णालीका लागि लक्की बमले ४ विकेट लिदा दीप पौडेल र विपिन शर्माले दुई दुई विकेट लिए । 

प्रतिउत्तरमा कर्णाली प्रदेशले २४ दशमलव २ ओभरमा सबै विकेट क्षतिमा ८९ रन मात्रै बनायो । कर्णालीका लागि कमल बिष्टले २४ र रोशन शाहीले २२ रन बनाए । लुम्बीनीका लागि सन्तोष यादवले ४ विकेट र सागर गैरेले २ विकेट लिए ।  आजकै दोस्रो खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १ रनले किनारा लगायो ।  मधेश प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्दै २७ दशमलव ५ ओभरमा सबै विकेट क्षतिमा १०० रन बनायो । मधेशका लागि अलि अकबर अन्सारीले ३८ रन र चन्दन रामले अविजित २२ रन बनाए । सुदुरपश्चिमका लागि डम्मर माझीले ४ विकेट र सचिन मल्ल तथा अशोक धामीले दुई दुई विकेट लिए । प्रतिउत्तरमा सुदुरपश्चिमले २९ दशमलव ३ ओभरमा सबै विकेट क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिमका लागि मेटिक थापाले २५ र आशिष महरले २० रन बनाए । मधेशका लागि पप्पु यादवले ४ तथा सोहन शाहले २ विकेट लिए । 

प्रतियोगिता अन्तर्गत भोली कुनै खेल हुनेछैन । दुबै सेमिफाईनलका खेलहरु पर्सि हुनेछन् । पहिलो सेमफाईनलमा मधेश प्रदेश र कोसी प्रदेश तथा दोस्रो सेमिफाईनल खेलमा बागमति प्रदेश र लुम्बीनी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् । 

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।