विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढौंः मन्त्री साउँद
2023/04/29, 6:10
 
ss

परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभइ साझा रुपमा अघि बढ्नुपर्ने जिकिर गरेका छन् । परराष्ट्रमन्त्री बनेपछि शनिवार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका साउँदले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए ।

“विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ”, मन्त्री साउँदले भने, “अहिले दश पार्टी मिलेर सरकार बनाएकाँ छौँ, विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु हुँदैन ।” उनले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढाएको जानकारी गराए ।

“सरकारले त्यसका लागि विश्वविद्यालय ऐन बनाउन कमिटी बनाउने कुरो अगाडि भएको छ”, परराष्ट्रमन्त्री साउँदले भने, “यो अस्पताल प्रतिष्ठान मात्र नभइ यहाँको पहिलो चिकित्सा विश्वविद्यालय हुनेछ ।” निर्वाचन क्षेत्रको सडक पूर्वाधार निर्माण, मोहना नदी तटबन्ध निर्माणलगायतका काममा आफू सक्रिय भएर लागेको उनको दाबी छ ।