नागरिक उन्मुक्ति संसदीय दलको नेताबाट हटाइयो रामेश्वरलाई, प्रमुख सचेतकमा खुसीराम
2023/05/10, 6:43
 
ss

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ। आज संसदीय दलको कार्यालयमा बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाएको हो । उनको ठाउँमा नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको हो।

संसदीय दलको कार्यालयमा बहुमत सदस्यहरूको उक्त बैठकमा रामेश्वर चौधरी भने उपस्थित थिएनन् । सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीमा चार जनाको हस्ताक्षर सहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेश सभा सचिवालयमा दिइएको छ। त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ।

यसअघि लक्ष्मण किशोर चौधरी प्रमुख सचेतक थिए। सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ। संसदीय दलको नेता सहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए । इन्दिरा गिरी बैठकमा उपस्थित भएपनि हस्ताक्षर भने गरिनन्। त्यस्तै बैठकमा रामेश्वर चौधरी र टिका थापा भने उपस्थित थिएनन् ।