युएईमा बाबुको मृत्युपछि न्यायका लागि भौँतारिएका १८ वर्षीय छोरा
2023/05/16, 3:57
 
dd

 ‘खगराज भट्ट हुनुहुन्छ ?’, माओवादी सुदूरपश्चिम संसदीय दलको कार्यालय पुगेका एक युवकले मलिन स्वरमा सोधे । ‘एउटा छलफलमा हुनुहुन्छ’, भट्टको स्वकीय सचिव केशव जोशीले जानकारी दिए । 

‘केही थियो की ?’

‘उहाँलाई भेट्न आएको, ठूलो आश लिएर’, ती युवकको स्वर अझै मलिन भयो । भट्टलाई कुरिरहेका ती युवकले आफ्नो झोलाबाट झिकेर केही कागजपत्र मिलाइरहेका थिए ।

केका कागज हुन् रु’, जोशीले जिज्ञासा राखे ।

‘मेरो बुवाको दुबईमा हत्या भयो । अहिलेसम्म कसले मारे भन्ने पनि थाहा भएको छैन, बुवाको मृत्युपछि हामीले पाउनु पर्ने राहत र क्षतिपूर्ति पनि पाएका छैनौँ’, ती युवकले भने, ‘बुवाले सापटी दिनु भएकाहरूले पनि पैसा दिएका छैनन् । हामीलाई त सारै समस्या भयो सर, केही गर्दिनु पर्यो ।’

युवकले समस्याबारे जानकारी दिँदै गर्दा भट्ट कार्यालयमा पुग्छन् । ‘उहाँ नै हो खगराज भट्ट’, जोशीले चिनाए । युवकले उठेर नमस्कार गरे ।

‘भाइ १८ वर्षको हुनुभयो । विदेशमा बुवाको मृत्युपछि न्याय, क्षतिपूर्ति र राहतको लागि आउनु भएको रहेछ । केही गर्न सकिन्छ रु’, जोशीले भट्टलाई जानकारी दिँदै सोध्छन् ।

‘के नाम हो रु’

‘प्रेम बडू’

‘के ठाउँ ?’

‘दार्चुला, व्यास गाउँपालिका धौलाकोट ।’

भट्ट र बडूबीच संक्षिप्त चिना परिचय हुन्छ ।

चार वर्ष पहिले दुबई गएका आफ्ना बुबाको रहस्यमय मृत्युपछि विक्षिप्त बसेका १८ वर्षीय युवक प्रेम अहिले सरकारबाट पाइने सुविधाका लागि विभिन्न सरोकारवाला निकाय र व्यक्तिलाई भेट्दै आफ्ना पीडा राखिरहेका छन् ।

अघिल्लो कात्तिक ६ गते प्रेमका बुबा कृष्णानन्द बडूको युएईमा मृत्यु भएको थियो । त्यसको केही समयपछि शव नेपाल आयो । तर, उनले पाउनु पर्ने क्षतिपूर्ति केही पाएनन् ।

‘१ गते बुबाले फोन गर्नुभएको थियो । सबै राम्रै थियो’, प्रेमले भने, ‘एक्कासि ६ गते मृत्यु भएको खबर आयो । हामीलाई त मृत्यु होइन बुबाको हत्या भएको जस्तो लागि रहेको छ । ’

प्रेमले बुबाको राम्रो कमाइ भइरहेको र अन्य समस्या परेका साथीहरूलाई पनि ब्याजमा पैसा लगाउने गरेको बताए । पैसाकै कारणले बुबाको हत्या गरिएको हुन सक्ने उनको भनाइ छ । तर, त्यसको आधिकारिक प्रमाण भने उनीसँग छैन । घरमा प्रेमको एक बैनी र आमा छन् ।

कमाउन गएका बुबाको मृत्यु भएपछि अहिले आर्थिक संकटले प्रेमको परिवारलाई समस्यामा पारेको छ । त्यसैमाथि बुवाले पाउनु पर्ने रकम पनि नपाएको उनको गुनासो छ । दुबईबाट शव आउँदा उनको मोबाइल पनि परिवारले पाएका थिए । त्यसमा भएका कुराका आधारमा अहिले उनले बुबाले रकम दिएका व्यक्तिहरूबाट पनि रकम असुल गरिदिन अपील गरिरहेका छन् ।

यस क्रममा प्रेमले मुख्यमन्त्रीदेखि प्रहरी प्रमुखसम्मलाई भेटिसकेका छन् । १८ वर्षको कलिलो उमेरमा बुबाको निधनपछि न्याय र आर्थिक समस्याको अवस्था लिएर उनी जहाँ–जहाँ पुगे त्यहाँ आश्वासन र निराशाबाहेक केही पाएनन् ।

प्रेम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश प्रहरी प्रमुख कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसम्म उनी पुगिसकेका छन् । विभिन्न दलका कार्यालय र दलका नेताहरूलाई प्रत्यक्ष भेटेरसमेत याचना गर्दा पनि समस्याको समाधान नभएको उनको गुनासो छ ।

‘मुख्यमन्त्री कार्यालय जाँदा पहिला पत्र ल्याउनु अनि हुन्छ भन्नुभयो । अहिले कागज पत्र ल्याएपछि सामाजिक विकास मन्त्रालय जाऊ भन्नुहुन्छ’, उनले भने, ‘सामाजिक विकास मन्त्रालयका निमित्त सचिवले कागज पत्रमा तोक पनि लगाइदिनु भएन ।’

नेपालगन्ज निवासी गणेश केसीसँग बुबाले ५ लाख रुपैयाँ लिन बाँकी रहेको र उक्त रकम उपलब्ध गराइदिन अपील गर्दै उनले विभिन्न व्यक्तिहरुलाई समेत गुहारी सकेका छन् । तर, कहीँ कतैबाट न्याय पाएको आभास उनलाई भएको छैन ।

‘बुबा बित्नु भयो । सरकारले राहत र क्षतिपूर्ति पनि दिएको छैन । त्यसैमाथि बुबाले पाउनु पर्ने रकम पनि अहिले दिएका छैनन्’, उनी भन्छन्, ‘घरमा मम्मी र सानी बहिनी छे । हामीलाई के खाने के लाउने भन्ने चिन्ता छ ।’

एसईई दिएका प्रेमले आफूलाई कुनै अस्थायी रोजगारीसँग जोडिदिन पनि अपील गरिरहेका छन् । ‘मेरो नागरिकता बनिसकेको छ । जस्तो पनि काम गर्न सक्छु । कार्यालय सहयोगीको काम भएपनि दिनुहोला’, उनले प्रदेश सभामा बिन्ती गर्दै भनिरहेका थिए, ‘बुबा बित्नु भयो । मम्मी र बहिनीलाई मैले पाल्छु । जस्तो भए पनि कुनै काम दिनुस् हजुर ।’

युएईबाट बुबाको शवसँगै आएका कागजात र स्थानीय प्रशासनबाट बनाएका सिफारिस बोकेर न्यायको लागि प्रेम भौँतारिन लागेको पनि झन्डै तीन महिना भइसकेको छ । तर, उनले कहीँ कतैबाट आश्वासन बाहेक केही पाएका छैनन् ।