धनगढी बोराडाडीमा नबिल बैङ्कको शाखा विस्तार
2023/06/01, 8:29
 
विस्तार

धनगढी – नबिल बैङ्क लिमिटेडले धनगढीको बोराडाडीमा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार बोराडाडीमा नयाँ शाखाको उद्घाटन गरिएको हो ।  नेपाल राष्ट्र बैङ्क धनगढीका निर्देशक विनोदराज लेखक र नबिल बैङ्कका प्रदेश प्रमुख टेकराज भट्टले संयुक्त रिबन काटेर बैङ्कको शाखा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा नबिल बैङ्क सुदूरपश्चिम र कर्णाली प्रदेश प्रमुखको समेत सहभागी रहेका थियो ।

बैङ्कका शाखा प्रबन्धक देवेन्द्र केसीले नबिल बैङ्क र शाखाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी गराएका थिए । 

कार्यक्रमका मुख्य अतिथि विनोद राज लेखकले बैङ्कको उपलब्धता र बोराडाडी क्षेत्रमा शाखाको आवश्यकता  रहेको बताए । धनगढीको बजार क्षेत्रमा मात्र बैङ्क तथा वित्तीय संस्थाहरू रहेको बताउँदै उनले मोहनापुल –अत्तरिया  ६ लेन सडक क्षेत्रमा समेत बैङ्क खुलेकाले खुसी व्यक्त गरेका हुन् । 

नबिल बैङ्कका प्रदेश प्रमुख टेकराज भट्टले निक्षेप र कर्जाको बारेमा बताएका थिए । शाखाको विस्तारले ग्राहक वर्गमा बैंकिङ्ग सेवा सुविधामा थप सहजीकरण हुने उनको दाबी छ । 

यस अघि बैङ्कले केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी डिजिटल उद्घाटन गरेको थियो । स्थापनाको ३८ वर्ष पार गरेको बैङ्कले एक साथ देशभर ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको हो। ‘नबिल बैङ्क अब तपाईँसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैङ्किङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकै साथ ३८ नयाँ शाखा विस्तार गरिएको बैङ्कले जनाएको छ ।

 

३८ नयाँ शाखा मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै कोसी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैङ्कका शाखा कार्यालयको सङ्ख्या २५५ पुगेको छ ।