एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटलको साथ
2023/06/06, 11:01
 
dd

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको चौथो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो । स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको ‘बर्ष युवा खेलाडी’ अवार्डको विधालाई निसर्ग हस्पिटलले प्रायोजन गरेको हो । अब यो विधाको नाम निसर्ग हस्पिटल बर्ष युवा खेलाडी अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद २५ हजार सहित मेडल प्रदान गरिनेछ ।

अघिल्ला तीन संस्करणमा पनि निसर्ग हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको थियो । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष तिर्थराज पन्त र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव हरि जोशीले हस्ताक्षर गरे । स्वास्थ्य लागि खेलकुद मात्रै नभई ‘‘राष्ट्रका लागि खेलकुद र खेलकुदका लागि स्वास्थ्य’’ भन्ने अभियानका साथ विभिन्न खेलकुद गतिविधीहरु तथा सामाजिक कार्यहरुमा निसर्ग हस्पिटल सक्रिय रहँदै आएकोले सुरुवातदेखि नै अवार्डलाई सहयोग गर्दै आएको कार्यकारी अध्यक्ष तिर्थराज पन्तले बताए । 

धनगढी उपमहानगरपालिका–५, हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।  अस्पतालले नवजात शिशु तथा बालरोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा, जनरल तथा दुरबिन बाट अप्रेशन सेवा, स्त्री तथा प्रसुती रोग सेवा, भिडियो एक्स(रे (रेडियोलोजी) सेवा, मानसिक तथा नशा रोग सेवा, मुख, अनुहार तथा बङ्गारा रोग सेवा, नाक कान घाँटी रोग सेवा, छाला कुष्ठरोग सौन्दर्य तथा यौन रोग सेवा, मृगौला तथा मुत्र रोग सेवा, न्युरो मस्तिष्क नशा तथा मेरुदण्ड रोग सेवा, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको छ । अस्पतालमा सिटीस्क्यान लगायत थप सेवाहरु पनि थपिएका छन् । 

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । अवार्डको युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।