‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’लाई गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलको साथ
2023/06/09, 2:23
 
crct

 कैलालीको धनगढीमा आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड— २०७९’ लाई गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्न लागेको चौथो संस्करणको अवार्डको ‘लाइफटाइम एचिभमेन्ट’ विधालाई धनगढीमा रहेको गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टलले प्रायोजन गर्ने भएको हो । अव यो विधाको नाम गरिमा पोलिक्लिनिक एन्ड गरिमा डेन्टल लाइफटाइम एचिभमेन्ट अवार्ड भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र पोलिक्लिनिकका सञ्चालक डा. निराजनदत्त शर्मा पौडेलले हस्ताक्षर गर्दै प्रायोजन सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे । सम्झौतापछि प्रतिक्रिया दिँदै डाक्टर शर्माले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए । ‘आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीलाई सम्मान गरिने कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको छ,’ उनले भने । सुदूरपश्चिम प्रदेशको राजधानीमा सञ्चालित गरिमा पोलिक्लिनिक एन्ड डेन्टलले लामोसमयदेखि विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । असार ८ गते आयोजना हुने सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्ष ०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने मञ्चका अध्यक्ष पाठकले बताए ।

अवार्डलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । यसअघि नै अवार्डको युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेश अवार्डलाई शौभाग्य हस्पिटल, वर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आइकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

यस्तै अवार्डका लागि ४ विधाका खेलाडीको मनोनयन पनि सार्वजनिक भइसकेको छ । वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारोत्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन् । बर्ष युवा खेलाडी विधातर्फको मनोनयनमा भारोत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी परेका छन् । सुदूरपश्चिम आइकन पुरुष विधामा तरबारबाजी (फेन्सिङ)का जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् भने सुदूरपश्चिम आइकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छन् । अब उत्कृष्ट खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ ।