पहाडमा पनि फल्यो तराईको तरबुजा
2023/06/12, 2:08
 
aa

 बाजुराका एक किसानले तराईको गर्मीमा फल्ने तरबुजा पहाडको चिसो ठाउँमा समेत फलाउन सफल भएका छन् । बुढीगङ्गा नगरपालिका–१०, देउमाण्डौका स्थानीय भोलाराम जैसीले तराईमा फल्ने तरबुजा पहिलो पटक पहाडमा फलाएको हो ।

२०७९ फागुन, चैत महिना परीक्षणका लागि तराईमा फल्ने तरबुजा पहाडमा ल्याएर लगाएपछि राम्रैसँग फलेको बुढीगङ्गा नगरपालिका–१०, देउमाण्डौका स्थानीय भोलाराम जैसीले बताए । उनले भने, “तरबुजा तराईमा मात्र फल्ने फल हो कि यो पहाडमा पनि फल्छ भनेर पहिलो पटक परीक्षण गर्नका लागि लगाएपछि राम्रोसँग फलेको बताए ।”

बाजुरा चिसो ठाउँ हो । यो फल यहाँ फल्छ कि फल्दैन भनेर परीक्षण गर्नकै लागि गत फागुन, चैतमा झन्डै सात रोपनी जमिनमा तरबुजा लगाएको जैसीले बताए । तराईमा मात्र तरबुजा फलेको देखेका बाजुराका अधिकांश स्थानीयलाई यो फल बाजुरामै फलेको देखेपछि निकै अचम्म लागेको छ ।  जैसी भन्छन, “मैले लामो समयसम्म टमाटर, आलु, गोलभेँडा, काँक्रा, फर्सीलगायतका विभिन्न तरकारी फलाउँदै आएकाले यो तरबुजा फलाउन कुनै समस्या नभएको बताए । तराईको बगरमा फल्ने तरबुजा यति बेला बाजुराको खेतबारीमा समेत लटरम्म फलेको छ । यो वर्ष परीक्षण गर्नका लागि थोरै मात्र लगाएको हो । आउँदो वर्ष तरबुजालाई खेतीका रूपमा नै लिने जैसीको योजना छ । 

जैसी २०७४ को स्थानीय तहको निर्वाचनबाट बुढीगङ्गा नगरपालिका–१० को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले तरकारी खेतीबाट नै दुई छोरा एक छोरीको उच्च शिक्षा समेत पूरा गरेका छन् । जैसीले तरबुजा मात्र होइन, अहिले सात रोपनी जमिनमा ड्र्यागन खेतीसमेत गरेका छन् ।