कञ्चनपुरमा भारतीय टोलीको अनाधिकृत सर्भे, संसद्मा सरकारको ध्यानाकर्षण
2023/06/18, 5:46
 
कञ्चनपुरमा भारतीय टोलीको अनाधिकृत सर्भे, संसद्मा सरकारको ध्यानाकर्षण

कञ्चनपुर - रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कन्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्राविधि टोली नेपाल प्रवेश गरेर भूमि नापजाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् । १ असारमा भारतीय प्राविधि टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कन्चनपुरको भुजेला, गड्डाचौकीदेखि सुकशलासम्मको भू–भाग नापजाँच गरेको भन्दै उनले यसबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।

सांसद अर्यालले भने, ‘भारतीय प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत पाएनन्। के उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो। म सरकारलाई प्रश्न गर्न चाहन्छु,’ उनले भने। सुरक्षाकर्मीले सुइँको नपाउँदा स्थानीयहरूले गलत काम भएको भन्दै प्रहरीलाई जानकारी गराएको उनको भनाई थियो। उनले नेपाली पक्षलाई जानकारी नै नगराई एकतर्फी रूपमा भूमि नापजाँच गर्ने कुरा सामान्य नभएको बताए। उनले सो घटनाको सत्य तथ्य छानबिन गराउन सरकारसँग माग गरे।

शुक्रबार दिउँसो नेपाली प्रशासनसँग समन्वय नगरेरै कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी भुजेलास्थित सीमावर्र्ती क्षेत्रमा अनाधिकृत रुपमा जमिन नापजाँच गरिरहेका थिए।नेपाली पक्षसँग समन्वयनै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गरिरहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई कागज गराएर शुक्रबार साँझै छाडिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

शुक्रबार कम्पनीका सर्भे मेनेजर तालेवर सिंहको नेतृत्वमा ५ जना कर्मचारी गड्डाचौकी क्षेत्रमा नाप जाँच गरिरहेको स्थानीयले देखेका थिए। सो समयमा स्थानीयले नाप जाँचको काम रोकाएर प्रहरीलाई खबर गरेका थिए। उनीहरुले दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि भारततर्फ निर्माणाधीन पहुँच मार्गको उचाई र दूरी पत्ता लगाउन गड्डाचौकीमा नापजाँच भइरहेको बताएका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागी पक्राउ गरेको थियो।