दुर्घटनामा प्रदेश कानुन मन्त्री सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु
2023/06/20, 9:49
 
dd

धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंह सहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजु जया देवी सिंह रहेकी छन् । गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता र भाउजु जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत्यु भएको घोषणा गरेका हुन् ।

मन्त्री सहित पाँच जना सवार गाडी मंगलवार दिउसो करीव १ : ४५ बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ झारछडामा दुर्घटना भएको थियो । गाडीका चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीका सुरक्षा गार्ड दीपक भण्डारी रहेका समेत घाईते भएका छन् । चालक जोशीको अवस्था मध्यम र प्रहरी सहायक हवल्दार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार देउरा र बागथलाको सडक खण्डबाट करीव ५० मिटर तल खस्दा मन्त्री सिंह चढेको गाडी कच्याककुचुक भएको थियो । सुरक्षा स्रोतका अनुसार मन्त्री सहित तीनै जनाको घट्नास्थलमै मृत्यु भईसकेको थियो । 

धनगढीबाट मन्त्री सिंहसंगै उनका छोरा अभिषेक पनि साथीसंगै बझाङ गएका थिए । तर अभिषेक भने मन्त्रीको गाडीको पछाडि अर्को गाडीमा सवार थिए । स्कर्टिङमा रहेको प्रहरी र अर्को गाडीमा रहेका अभिषेक सहितको टोलीले दुर्घटनाग्रस्त गाडीबाट मन्त्री सहित सबै घाईतेहरुलाई निकालेका थिए ।

घट्नास्थलबाट स्कर्टिङमा खटिएको प्रनानी सुशिल चन्द ठकुरीको टोलीले उद्दार गरी सिंह सहित पाँचै जनालाई देउरास्थित रितु पोलिक्लिनिकमा पु¥याएको थियो । जहाँ उपचारकै क्रममा मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयालाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

चिकित्सकले सुरक्षा अधिकारीहरुलाई पनि मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयाको मृत्यु भईसकेकको जानकारी गराई सकेका थिए । तर त्यहाँ दुई जनाको मृत्यु भएको घोषणा गरिएपनि सिंह हाई प्रोफाईलका भएकोले उनलाई मृत घोषणा गर्ने जोखिम पोलिक्लिनिकमा कार्यरत एमबीबीएस चिकित्सकले मोलेनन ।  प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि सिंहको मृत्यु भईसककेको कुरा जानकारीमा आईसकेको थियो । प्रदेश सरकारले आफ्ना तर्फ गर्नुपर्ने अन्तिम कोसिस ग¥यो । र सिंहलाई त्यही अवस्थामा हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेज लगियो । जहाँ चिकित्सकले सिंहको मृत्यु भईसकेको घोषणा ग¥यो ।