कञ्चनपुर पुनर्वासका नक्कली डाक्टर जैशी, युवतीलाई ‘प्रेमजाल’मा पारेर ठगे लाखौँ रकम
2023/06/23, 4:31
 
कञ्चनपुर पुनर्वासका नक्कली डाक्टर जैशी, युवतीलाई ‘प्रेमजाल’मा पारेर ठगे लाखौँ रकम

कञ्चनपुर - कञ्चनपुर पुनर्वास नगरपालिका–७ का मात्रिका जैशी बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडीमा हुइकिरहेका हून्छन्। उनले चढ्ने सो गाडी नकिनेर झुक्याएर आफ्नै क्लिनिक सञ्चालन गरिरहेकी नर्सलाई ब्लाकमेलिङ गरी ४० लाख ठगी गरेर ल्याएको गाडी हो।

अनुसन्धानका लागि हाल मात्रिकासँगै यो गाडी पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार मात्रिका जैशीले करोडौं ठगी गरेको भन्दै परिसरमा अन्य मौखिक उजुरी पनि परेको छ। उनले एक जना नर्सले मात्रिकाविरुद्ध ४० लाख नगदसहित अन्य रकम पनि ठगी गरेको भन्दै परिसरमा उजुरी दिएको बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मात्रिकाले नर्सलाई आफू वीर अस्पतालको १२औं तहको डाक्टर हो भनेर झुक्याएका थिए।

करिब १८ महिनाको प्रेम सम्बन्धमा मात्रिकाले निकै प्रलोभन दिएका थिए। युवतीलाई विश्वासमा लिन कहिले एप्रोन लगाएको फोटो त कहिले भिडियो पठाउँथे। आफू अस्पतालमा व्यस्त भएको भन्दै ढाँट्ने गर्थे। ति नर्सलाई अपरिचित मानिसले बारम्बार फोन गरिरहे । क्लिनिकमा फोन गरेर भने, ‘म डाक्टर हुँ, म्यामको नम्बर दिनु बिरामी पठाउँछु।’ सर्जिकल सामान बेच्नेबारे पनि कुरा गर्नु छ भनेपछि क्लिनिक स्टाफले सञ्चालिकाको नम्बर दिए। अनि,सञ्चालिका(नर्स)ले ती अपरिचित डाक्टरसँग कुरा गरिन् ।

वीर अस्पतालमा चिकित्सक रहेको दाबी गर्ने युवकले पहिलो कलमा नै उनलाई भने, ‘म डाक्टर हुँ, बिहे गरौँ।’ सुरुवातको कुराकानीमा नै बिहे गर्ने कुरा गरेपछि ती नर्सले उनलाई ‘ब्लक’ गरिन् । त्यसपछिका करिब ३ महिना कुरा नहुँदा युवकले ती स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सको तीन पुस्ते पत्ता लगाइसकेका थिए। परिवारमार्फत फेरि युवतीको सम्पर्कमा गएका तिनै डाक्टरले करिब १८ महिनाको अवधिमा युवतीको ७८ लाख ठगेको पाइएको छ । ति नर्सलाई यसरी ठगी गर्ने यी नै मात्रिका जैसी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ‘आरोपी मात्रिका नक्कली चिकित्सक रहेको थाहा भएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी तथा एसपी सीताराम रिजालले भने, नर्सले प्रेम जालमा पारेपछि उनले विभिन्न बहाना बनाएर पैसा माग्ने गरेको प्रहरीलाई बताएकी छन्।

पैसा माग्ने बहाना गर्दै उनी भन्थे, ‘मैले दिएको चेक बाउन्स भएछ, मेरो करिअर बिग्रने भो।’ पेसाले चिकित्सक र बिहे गर्ने कुरा भएको हुनाले ती नर्सले उनलाई पैसा दिँदै गइन्। ७८ लाख दिएपछि भने उनले आफू ठगिएको भेउ पाइन् र जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी गरेकी हुन्। प्रहरीका अनुसार मातृकाका भाइले पीडित युवतीलाई फोन गरेर दाजुको कर्तुतका बारेमा जानकारी गराएपछि आफू ठगिएको भेउ पाएकी थिइन् । प्रहरीका अनुसार उनीहरुबीच गएको वैशाख १६ गते बिहे हुने तय थियो। तर सो अघि नै कर्तुत खुलासा भएपछि पीडित प्रहरीमा पुगेकी थिइन्। आफूसँगै पैसा मागेर आरोपीले गाडी किनेको युवतीले प्रहरीलाई बताएकी छन् ।

बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँमा भेटिएकी पीडितले प्रहरीसँग भन्दै थिइन्, ‘गाडी किन्न ४० लाख दिएको थिएँ ।’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालसँग जैसीले भनेका छन्, ‘गाडी मेरो नाममा नामसारी हुन बाँकी थियो, सोरुमकै नाममा छ ।’ मात्रिका जैसीले बिबिएससम्म पढेका छन् । आइएस्सीमा बायोलोजी विषय पढेका उनले केही समय सर्जिकल सामान पनि बेच्ने काम गरे। मेडिकल क्षेत्रसँग जोडिएकाले उनलाई गाइनो (स्त्रीरोग) बारे धेरथोर जानकारी छ । गाइनोबारे कुरा गरेर उनले ती पीडित युवतीलाई विश्वासमा पारेका हुन्।

धनगढीमा प्रेमिका हत्या उद्योगमा ६ वर्ष जेल- 

मात्रिका जैसी पहिलेदेखि प्रेम गर्न अगाडि थिए । कैलालीको धनगढीमा कलेज पढ्दा उनले दुईवटी किशोरीसँग एकसाथ प्रेम गरे। दुई जना सँगको प्रेम सम्बन्ध एक–अर्कामा छिपेन । त्यसपछि उनले युवतीलाई सक्याउन नयाँ आइडिया निकाले, ‘तिनै जना सँगसँगै आत्महत्या गर्ने ।’ अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार दुई जना प्रेमिकालाई विष खुवाएर आफूले चाहिँ ‘नक्कली विष’ पिएका थिए। तर, मात्रिकाले सो कुरा अस्वीकार गरेका छन्। प्रहरीसँग उनले भनेका छन्, ‘एउटीले विष पिएर र अर्कीले झुन्डिएर आत्महत्या गरेका हुन्।’ २०७० सालमा भएको सो घटनामा उनी ६ वर्ष जेल बसेर निस्केका हुन्। आत्महत्या गर्ने मध्येकी एक किशोरी गर्भवती थिइन्।

भक्तपुरको कौसलटारमा बस्ने जैशी यसअघि पनि २ जना प्रेमिकाको हत्या गरेको आरोपमा ६ वर्ष जेल बसेर मुक्त भएको खुलेको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले मात्रिका जेलमुक्त भए पनि पुनः ठगी कार्यमा संलग्न भएको खुलेको छ। उनी भन्छन्, ‘कहिले स्वास्थ्य क्षेत्रको सामान बेचबिखनमा लाग्ने त कहिले धेरै युवतीहरूसँग सम्बन्ध बनाएर ठगी गर्थे। जैसीको टार्गेटमा पेसागत रूपमा सक्षम युवतीहरू परेको देखिन्छ।’ उनी पक्राउ परेको खबर सार्वजनकि भइसकेपछि अर्की एकजना युवतीले जैसीबाट १ करोड ठगिएको भन्दै मौखिक उजुरी दिएकी छन्। जैसीले धेरै युवतीबाट पैसा उठाएको हुनसक्ने प्रहरीको अनुमान छ। उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट दिन ५ को म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको छ।