साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दै
2023/06/24, 11:09
 
साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दै

काठमाडौँ  - १४औँ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । 

बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ । त्यस्तै भारत नेपाललाई हराएर सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ ।

सेमिफाइनलको यात्रा तय गर्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

साविक विजेता भारत र उपविजेता नेपालबीचको आजको खेल रोमान्चक हुने अनुमान छ ।

आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको थियो भने भारतले पाकिस्तानलाई हराएको थियो । 

अहिलेसम्म नेपाल र भारतबीच भएका २३ प्रतिस्पर्धामा भारतले १६ र नेपालले दुई खेलमा मात्रै जित हासिल गरेका छन् । बाँकी ५ खेल बराबरीमा सकिएका थिए । 

जारी च्याम्पियनसिपमा समूह ए को भारत तीन अंकसहित शीर्षस्थानमा रहँदा नेपाल भने अंक विहीन हुँदै तेस्रो स्थानमा छ ।

च्याम्पियनसिपमा नेपाल, आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनान सहभागी छन् ।