सुदूरपश्चिम स्पोर्ट्स अवार्ड आज, प्रवेश निशुल्क
2023/06/30, 8:01
 
aaaa

धनगढी । चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ आज आयोजना हुँदैछ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा आज दिउसो ३ बजेदेखि धनगढीको ओम प्यालेसमा अवार्ड सुरु हुनेछ । आयोजकले अवार्डको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  

 


उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने मञ्चका कोषाध्यक्ष नवराज पनेरुले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

 


मञ्चका महासचिव हरि जोशीका अनुसार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । वर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्रसिंह ऐरी, कबड्डीका प्रकाश गिरी, वर्षको उत्कृष्ट खेलाडी महिलामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी बर्षा ओली मनोनयनमा परेकी छिन् । वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । सुदुरपश्चिम आइकन पुरुष विधामा फेस्निङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदुरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन् । ६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गर्ने जनाएको छ । लाइफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन अर्थात् आज विजेताको घोषणा गरिने भएको हो । 

 


अवार्डलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सहप्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । सहप्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड र क्रिसेन्ट सिटी स्कुल (सीसीएस प्लस टु) रहेका छन । अवार्डको वर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, वर्ष खेलाडी महिला विधालाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिक, युवा वर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाइफटाइम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टल, वर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आइकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ । अवार्डको ट्रफी सुुदुरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ भने भेन्यु पार्टनरको रुपमा ओम प्यालेस पार्टी प्यालेस रहेको छ । कार्यक्रम टिभी टुडे टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ । कार्यक्रममा हास्य कलाकार म्याक्सम गौडेल र गायक निशान भट्टराइको पनि प्रस्तुति रहने छ । प्रवेश भने निशुल्क रहेको छ ।