नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत, के-के भयो सहमति  ?
2023/08/01, 10:57
 
ss

अन्ततः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले छलफलपछि भने, ‘हामीबीच सहमति भएको छ । दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ । बिहीबार सरकारले पूर्णता पाउँछ ।’ यहाँ ४ वटा संसदीय समिति रहेको छ । भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् । भने, सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।

यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ । जसअनुसार बाँकी सांसदलाई जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ ।