बैतडीमा मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई क्लिनिक सिल
2023/08/07, 4:38
 
ss

बैतडीमा दुई अवैध क्लिनिक सिल गरिएका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ पाटन बजारमा सञ्चालित अवैध स्वास्थ्य क्लिनिक र दन्त क्लिनिक बन्द गरिएका हुन् । सोमबार अनुगमनको क्रममा क्लिनिक मापदण्ड विपरीत सञ्चालनमा रहेका पाइएपछि सिल गरिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पाटनको अगाडी सुर्खेतका फत्तबहादुर खडकाले सञ्चालन गरेको निभा स्वास्थ्य क्लिनिक दर्ता नै नगरेर सञ्चालन गरेको पाइएकाले बन्द गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले क्लिनिकहरु अनुगमन गरेको बताइएको छ । उनको पसलबाट अवैध गर्भवतन गर्ने औषधिहरु र चिकित्सकको सल्लाह बिना विक्री वितरण गर्न नपाउने औषधि समेत बरामत गरि नष्ट गरिएको बताइएको छ ।

अनुगमन टिमले पाटन ६ बजारमै रहेको ओम कान्तिपुर डेन्टल केयर नामको दन्त क्लिनिक सिल गरेको छ । दर्ता बिना मापदण्ड विपरीत सञ्चालनमा रहेको दन्त क्लिनिक पनि सिल गरिएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महाराले बताए । पछिल्लो बैतडीमा अवैध क्लिनिक बन्द गर्न स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कडा अनुगमन गरिरहेको छ । यस अघि पनि सिगास र पञ्चेश्वरमा अनुगमन गरेर मापदण्ड विपरीत सञ्चालनमा रहेका क्लिनिक सिल गरिएका थिए ।