कांग्रेसकैलाली सभापतिको निर्णयको विरोधमा सचिव, २ नेतामाथी कारबाहीको निर्णय गलत छ
2023/08/11, 7:22
 
कांग्रेसकैलाली सभापतिको निर्णयको विरोधमा सचिव, २ नेतामाथी कारबाहीको निर्णय गलत छ

कैलाली - नेपाली काँग्रेस कैलालीका सचिव नृप बहादुर सुनारले जिल्ला सभापतिले कांग्रेसका दुई नेतामाथी गरेको कारबाहीप्रती विरोध जनाएका छन्।
सोमबार जिल्ला सभापति नारायणदत्त भट्टले गोदावरी नगरपालिका(१ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे र चुरे गाउँपालिका(६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका थिए।

पार्टीको महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको आरोप लगाउँदै २ जनालाई जिल्ला सभापतिले कारबाही गरेका थिए। पाण्डे र कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि काँग्रेसभित्र विवाद सुरु भएको छ।सभापति भट्टले गरेको कारबाहीका विषयमा सचिव सुनारले विरोध जनाएका हुन्।

उनले सभापतिलाई भेटेर कारबाही गर्ने अधिकार नभएको बताएको र उक्त निर्णयमा विरोध जनाएको बताए।सचिव सुनारले सभापतिको निर्णयमा आफ्नो समर्थन नरहेको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। २०८०, श्रावण २२ गते जिल्ला सभापतिलाई भेटेर तपाईंले गर्नु भएको कार्बाहीको निर्णय गतल छ।बिधान बमोजिम तपाईंले कार्बाही गर्न पाउनु हुन्न,गर्नुभयो भने मेरो त्यसमा समर्थन हुँदैन भनेर असहमति जनाएको सबैलाई अवगत गराउन चाहन्छु, उनले भनेका छन्।

यस्तै जिल्ला सभापतिले गरेको कारबाहीविरुद्ध उपसभापति भीम बडुवालले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएका छन्।उनले सभापतिले विधिविपरीत एकलौटी रूपमा कारबाही गरेको भन्दै सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न गरेका छन्।सभापतिले गरेको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उपसभापति बडूवालले भनेका छन्, ‘यो कारबाही विधिसम्मत नरहेको जानकारी गराउन चाहन्छु। अनुशासन समितिमा सामान्य जानकारी समेत नगराई सभापतिको एकल निर्णयले कसैलाई पनि निलम्बन गर्न पाइँदैन। पार्टी विधानको बर्खिलापमा अनुशासन समितिको मानमर्दन हुने गरी गरिएको एकल निर्णयले सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न उब्जिएको छ।’ दशरथ चन्द मेडिकल विश्व विद्यालय स्थापनका लागि आन्दोलन गरिरहेका उनीहरूलाई सम्मान गर्नुपर्नेमा पार्टी सभापतिले कारबाही गरेर पार्टीलाई अपमान गरेको उपसभापतिको बिज्ञप्तिमा उल्लेख छ।