कञ्चनपुरमा युवा संघको निर्वाचनका सदस्यमाथि आक्रमण, अवस्था गम्भीर
2023/08/13, 11:14
 
कञ्चनपुरमा युवा संघको निर्वाचनका सदस्यमाथि आक्रमण, अवस्था गम्भीर

कञ्चनपुर - राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशन निर्वाचन मण्डलका सदस्य रविन्द्र देवकोटामाथि आक्रमण गरिएको छ। निर्वाचन मण्डलले संघको जिल्ला समितिको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा उनीमाथि संघका नेता कार्यकर्ताले टाउकोमा आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणबाट गम्भीर घाइते भएका भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष समेत हुन् । संघका नेता कार्यकर्ताहरुले देवकोटालाई हेल्मेट, मुक्का र हातले प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । देवकोटाको टाउको, छाती लगायत शरिरका विभिन्न भागमा चोट लागेकोले महाकाली प्रादेशिक अस्पताल लगिएको र टाउको चोटका कारण थप उपचारका लागी तत्काल उपचारका लागि धनगढी रिफर गरिएको छ।

देवकोटाले युवा संघका लेखा आयोगका केन्द्रीय सचिव प्रविन बोगटी, एमाले जिल्ला कमिटी सदस्य कमल रोकाया, युवा संघका केन्द्रीय सदस्य रोहितजङ्ग कुँबर, संघको जिल्ला अध्यक्षका आकाँक्षी नविन चन्द लगायत ६र७ जनाको समूहले आक्रमण गरेको बताए। संघका लेखा आयोग सचिव बोगटी सहित रोकाया लगायको समूहले संघको अध्यक्षमा चन्दलाई बनाउन पहल गर्दै आएको थियो । निर्वाचन मण्डलले अधिवेशन आयोजक कमिटीका संयोजक दिनेश विष्टलाई अध्यक्ष बनाएर समिति घोषणा गर्न लागेपछि देवकोटामाथि आक्रमण गरिएको हो।

देवकोटालाई आक्रमणबाट जोगाउँदा एमाले जिल्ला कमिटी सदस्य प्रशान्त भट्टमाथि प्रहार गरिएको छ । भट्ट र प्रहरीले उनलाई आक्रमणबाट जोगाउन प्रयास गरेका थिए। वडा अध्यक्ष देवकोटामाथि आक्रमण भएपछि प्रहरी कार्यालयमा सशस्त्र प्रहरी र जनपद प्रहरी तैनाथ गरिएको छ । वडा प्रहरी कार्यालयका इन्चार्ज प्रकाश भण्डारीले अहिले पार्टी कार्यालयमा अवस्था सामान्य भएको बताए ।शुक्रबार एमाले पोलिटब्युरो सदस्य एवम् युवा संघका इन्चार्ज महेश वस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम गरी नयाँ समिति घोषणा गरिएको छ । इन्चार्ज वस्नेतले अधिवेशन उद्घाटन गरेका थिए। संघको बन्द सत्र सुरु भएपछि उनीहरुले शुक्रबार राति निर्वाचन मण्डल घोषणा नहुँदै विवाद भएको थियो । त्यसमा निर्वाचन मण्डलका अध्यक्षमाथि हातपात प्रयास र केही कुर्ची तोडफोड गरिएको थियो।