गौरा पर्व भदौ ७ गते, प्रदेश सरकारले दियो दुई दिन बिदा
2023/08/16, 9:09
 
गौरा पर्व भदौ ७ गते, प्रदेश सरकारले दियो दुई दिन बिदा

धनगढी - सुदूरपश्चिम प्रदेश अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । सो पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष निकालेका थिए । सो निष्कर्ष गत पुस २५ मै स्वीकृति भएको थियो ।

यसैबीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो। दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ति जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन आग्रह गर्नु भएको छ ।

शास्त्रीय मान्यता अनुसार यो पर्व अगस्त्योदय पश्चात् र असोज अर्थात् कन्यार्कम गर्नु हुँदैन भन्ने सर्वविदितै छ उहाँले विज्ञप्तिमा भन्नु भएको छ भाद्र ७ गते पश्चात् यो पर्व मनाउँदा प्रचलित अगस्त्योदयसाधना गर्ने गणितद्वारा अगस्त्यको उदय हुने र सुतकलाग्ने भएकोले भाद्र ७ गते नै सो पर्व मनाउनुपरेको यथार्थ पनि समस्त गौरा पर्वनुरागी सज्जन वृन्दमा सादर निवेदन गर्दछु ।

तत्कालीन राज्यमन्त्री स्व। प्रेमसिंह धामीको पहलमा २०५२ सालदेखि गौरा पर्व मनाउन सुदूरपश्चिम प्रदेशमा बिदा दिन थालिएको थियो । गौरामा डेउडा खेल्ने र प्रसादको रुपमा विरुडा ग्रहण गर्ने चलन छ । सो पर्व सुदूरपश्चिम प्रदेशका डोटी, डडेलधुरा, बैतडी, दार्चुला तथा पछिल्लो समय तराईका कैलाली, कञ्चनपुर र नेपालको राजधानी काठमाडौँमा समेत विषेशरुपमा मनाइने गरिएको छ । दुर्वाष्टमीमा सुरु हुने गौरा पर्व ठाउँ अनुसार चार दिनसम्म मनाइने गरिन्छ । गोरखापत्रबाट