फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि १५ अर्ब लागत अनुमान, कहाँ पुग्यो काम ?
2023/09/15, 12:25
 
ss

सुदूरपश्चिम प्रदेशकै ‘गेम चेन्जर’ परियोजनाको रुपमा लिइएको फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढेको छ । सरकारले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला तथा खेलग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार दिएसँगै ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ जारी गरी निर्माणका प्रक्रिया अगाडि बढाइएको हो ।

समितिले रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको पूर्वतयारी गरिरहेको छ । फाप्लाका परिकल्पनाकार समेत रहेका विकास समितिका अध्यक्ष सुवाश शाहीले डीपीआर निर्माणको पूर्वतयारीमा जुटेको बताउँदै अबको एक महिनाभित्रै डीपीआरको लागि टेण्डर आह्वान गरिने जानकारी दिए । ‘विकास समिति मोडलमा काम भइरहेको छ । सम्पर्क कार्यालय स्थापना, कर्मचारी नियुक्त गरिएको छ । अबको एक महिनामा डीपीआरको लागि टेण्डर आह्वान हुनेछ’, समितिका अध्यक्ष शाहीले भने, ‘परियोजनाको डीपीआर नै सबैभन्दा ठूलो कुरा हो । मुटु हो । हामी हतारमा छैनौँ । यसमा नै समय लाग्छ । बाँकी कुरा त पूर्वाधार निर्माण हो ।’

सरकारले धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि साढे ३८ बिघा जमिनको भोगाधिकार दिएको छ । गत वर्षको वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आदेश बमोजिम मन्त्रिपरिषद्ले समितिलाई पूर्णता दिएसँगै निर्माणको प्रक्रिया सुरु भएको हो । विकास समिति आदेशमा रङ्गशाला तथा खेलग्राम निर्माणमा मुख्य कार्यकारी भूमिका रहने ९ सदस्यीय समिति हुने व्यवस्था गरिएको छ ।

fapla criket ground (1)

शाही अध्यक्ष रहेको समितिमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख उक्त समितिको पदेन सदस्य छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष र नेपाल सरकारले मनोनयन गरेकी कल्पना दिवाकोटी (महिला सदस्य) छिन् ।

समितिले क्रिकेट मैदान तथा खेलग्राम निर्माणको डीपीआर तयार गरी स्वीकृत गर्नेछ । संरचना निर्माण गर्दा प्रचलित कानुन बमोजिम गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तान्तरण गर्नेलगायतका जिम्मेवारी पूरा गर्नेछ ।

सरकारले चालु आर्थिकमा डीपीआर तयारी तथा व्यवस्थापनका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । डीपीआरको लागि एक करोड बजेट माग गरेको अध्यक्ष शाहीले जानकारी दिए । परियोजनाका लागि जम्मा १५ अर्बभन्दा माथि लागत अनुमान गरिएको छ । निर्माणको चरण ५ वर्ष लाग्ने अनुमान गरिएको छ । जसमा फेज अनुसार काम हुने बताइएको छ । पहिलो फेजमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला रहेको बताउँदै समितिका अध्यक्ष शाहीले त्यसपछि बाँकी पूर्वाधार थपिँदै जाने उल्लेख गरे ।

ड्रिम फाप्ला

fapla criket ground1

परियोजनाको सफलताले सुदूरपश्चिमको अन्तर्राष्ट्रिय पहिचान बन्ने आशा गरिएको छ । जसले यहाँको आर्थिक, सामाजिक, पर्यटन क्षेत्रमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ । रङ्गशाला हाल गौचरणको अवस्थामा छ । तर यहाँ नेपालकै ठूलो धनराशीको धनगढी प्रिमियर लिग (डीपीएल)को आयोजना भइसकेको छ । जसले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाएको थियो ।

रङ्गशाला धनगढी सिटी सेन्टरभन्दा चार किलोमिटर पर छ । खेलग्राममा क्रिकेट रङ्गशाला सहित जिमखान, पौडीपोखरी, क्रिकेट म्युजियम, अभ्यास खेलमैदान, अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो तथा इन्डोर हल, फुटबल मैदान, पार्किङ, तालिम सञ्चालन गर्ने भवन, मिडिया सेन्टर आदि संरचनाहरूको निर्माणको परिकल्पना गरिएको छ । फाप्लासँगै जोडिएको मोहना नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने परिकल्पना समेत गरिएको छ । रङ्गशालामा ७० हजार दर्शक अट्ने क्षमताको निर्माण गरिने परिकल्पना गरिएको छ । साथै रङ्गशाला नजिकको क्षेत्रलाई व्यापारिक, अतिथि सत्कार तथा पाककला क्षेत्रको रूपमा विकास गर्ने योजना छ । अध्यक्ष शाहीको समूहले सन २०१५ सालदेखि फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अभियान सुरु गरेको हो ।

‘ड्रिम फाप्ला’ अभियान घोषणा गरेर रङ्गशाला निर्माणको अभियान छेडेको थियो । गौरचणका रुपमा रहेको फाप्लालाई क्रिकेट मैदानका रुपमा विकास गर्ने, धनगढीलाई सिटी अफ क्रिकेटका रुपमा अघि बढाउने, नेपालकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगलाई फाप्लामा आयोजना गर्दै ड्रिम फाप्ला अभियान अघि बढेको थियो ।