२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः सेमिफाईनल समिकरण पुरा
2023/09/20, 5:53
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फको सेमिफाईनल समिकरण पुरा भएको छ । महिला तर्फ भने उपाधि भिडन्त बाँकी छ । महिला तर्फ सुमादेवी युवा क्लब र पटेला स्मार्ट क्लब प्रतिस्पर्धा गर्नेछन् । महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् ।

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलहरुमा जित हात पार्दै ईलाईट युवा क्लब र सुदुरपश्चिम ११ सेमिफाईनल पुगेका छन् । ईलाईट युवा क्लबले कैलारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयलाई हराएर अन्तिम दुईमा स्थान बनाएको हो । निर्धारित समयमा दुबै टोलीले बराबरी खेलेपछि ईलाईटले पेनाल्टी सुटआउटमा बाजी मारेको हो ।

यस्तै अर्को खेलमा जित हात पार्दै सुदुरपश्चिम ११ पनि सेमिफाईनलमा पुगेको छ । सुदुरपश्चिम ११ ले कालिका युवा क्लबलाई ५–२ ले हराएर अन्तिम दुईमा स्थान बनाएको हो । यसअघि नै सिआर सेभेन र सागर युवा क्लब सेमिफाईनल प्रवेश गरिसकेका छन् । सागर युवा क्लबले पटेला स्मार्ट क्लबलाई १–० र सिआउर सेभेनले बरपिपल थारु युवा क्लबलाई ४–१ ले हराएर सेमिफाईनलको यात्रा तय गरिससकेका छन् । 

पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।