२४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः सुप ११ र सिआउर सेभेन उपाधिका लागि भिड्ने
2023/09/22, 1:06
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फको उपाधिका लागि सुदुरपश्चिम ११ स्पोर्टस क्लब र सिआउर सेभेन क्लब भिड्ने भएका छन् । 

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको सेमिफाईनल खेलहरुमा जित हात पार्दै सुप ११ र सिआउर सेभेन उपाधिका लागि भिड्ने भएका हुन् । 

पहिलो सेमिफाईनलमा ईलाईट युवा क्लबलाई हरउँदै सुप ११ फाईनल प्रवेश गरेको छ । सुप ११ ले पेनाल्टीमा बाजी मार्दै उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुबै टोलीले गोल रहित बराबरी खेलेपछि पेनाल्टीमा सुप ११ ले ईलाईटलाई ४–२ ले हरायो । 

दोस्रो सेमिफाईनलमा सिआर सेभेन क्लब सागर युवा क्लबलाई हराउँदै उपाधि नजिक पुगेको छ । सिआउर सेभेनले सागर युवा क्लबलाई १–० को अन्तरले हराउँदै फाईनलको यात्रा तय गरेको हो । पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए ।  

महिला तर्फको उपाधिका लागि सुमादेवी युवा क्लब र पटेला स्मार्ट क्लब प्रतिस्पर्धा गर्नेछन् । महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् ।

प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।