सुदूरपश्चिम एमालेमा प्रदेशको नेतृत्व लिन तीन समूह मैदानमा
2023/09/27, 12:38
 
ss

लुम्बिनीबाट सुरु भएको नेकपा एमालेको प्रदेश अधिवेशन असोज तेस्रो साता सुदूरपश्चिमको नेतृत्व चयन गरेर सकिंदैछ । गएको १६–१७ भदौमा लुम्बिनीको नेतृत्व चयन गरिसकेको एमालेले सोमबार बागमती प्रदेशको अधिवेशन सुरु गरेको छ।

सुदूरपश्चिम प्रदेशको अधिवेशन भने आगामी २१–२२ असोजमा तोकिएको छ। तर सुदूरपश्चिमको नयाँ नेतृत्वको गृहकार्य चाहिं अन्य प्रदेशलाई उछिन्ने गरी भइरहेको छ। जबकी अधिवेशनको औपचारिक थालनी १६ असोजदेखि मात्रै हुनेछ। त्यसदिन प्रतिनिधि चयन भएपछि प्रदेश अधिवेशन औपचारिक रुपमा सुरु हुनेछ।

‘प्रतिनिधि चयन भएपछि नेतृत्व चयनको औपचारिक बहस सुरु हुनेछ, अहिले प्रतिनिधि चयन हुनै बाँकी छ’, सुदूरपश्चिमका एक नेता भन्छन्।तर नेतृत्वका आकांक्षीहरुको गतिविधिकै कारण प्रतिनिधि चयनलाई चासोका साथ हेरिएको छ । ‘प्रतिनिधि कसरी आउँछन् भन्नेले नेतृत्वमा को आउँछन् भन्ने समेत संकेत मिल्ने भएकाले चासो हुन स्वभाविकै हो’, ती नेता भन्छन् । ती नेताका अनुसार, प्रतिनिधि चयन हुन बाँकी रहेकाले औपचारिक रुपमा कसैले उम्मेदवारी घोषणा नगरेपनि कार्यकर्ता पंक्तिले बुझ्नेगरी गृहकार्य चलिरहेको छ ।


थपिएको भीम रावल फ्याक्टर

नेताहरुका अनुसार, प्रदेशको नेतृत्व लिन मुख्यगरी तीन समूह मैदानमा उत्रिएका छन् । एमाले विभाजनअघि अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिदै आएका नेताहरु नै यो अधिवेशनमा अलग–अलग समूहमा विभाजित भएकाले तीन समूह बन्ने भएको हो। विशेषगरी सुदूरपश्चिम एमालेको राजनीतिमा अध्यक्ष ओलीलाई बलियो साथ दिंदै आएका स्थायी कमिटी सदस्य कर्ण थापाले अछामका कृष्णप्रसाद जैसीलाई अगाडि बढाएका छन्। उनले खुलेर जैसीलाई प्रदेश अध्यक्ष बनाउने गृहकार्यमा छन्।

‘प्रदेशको अध्यक्ष सर्वसम्मत बनाउनुपर्छ। त्यसैमा लागिरहेको छु’, थापा भन्छन्। थापाले अगाडि बढाएका जैसी अछामका पूर्वजिल्ला अध्यक्ष हुन् । एमाले विभाजन अगाडि उनी माधवकुमार नेपाल समूहमा थिए। तर पार्टी विभाजनका बेला उनी एमालेमा बसे। स्रोतका अनुसार, युवा संघका पूर्व केन्द्रीय अध्यक्ष निरु पाल समेत जैसीकै पक्षमा छिन् । तर पार्टी केन्द्रीय सचिव लेखराज भट्ट, हालका प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत नेताहरु बाजुराका लालबहादुर थापालाई उम्मेदवार बनाउने गृहकार्यमा जुटेका छन्।

कर्ण थापाकै जिल्ला बाजुराका लालबहादुरलाई उम्मेदवार बनाउने तयारीमा भट्ट र भण्डारीहरु लागिपरेकाले पनि प्रदेश नेतृत्व सर्वसम्मत हुने सम्भावना न्यून बनेको नेताहरु बताउँछन्।‘कृष्णप्रसाद जैसी भनेर हिंडिरहेका कर्ण थापाकै जिल्लाका लालबहादुर उम्मेदवार बनाउन अर्को समूह लागेपछि सर्वसम्मत हुने सम्भावना कम भइगयो’, एक केन्द्रीय सदस्य भन्छन्। लालबहादुर पनि बाजुराका पूर्वजिल्ला अध्यक्ष हुन् । उनी दुई पटक पार्टी केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य भइसकेका छन्।

‘यो क्षेत्रका उच्च तहका नेताहरु आफैं प्रतिस्पर्धामा उत्रिएकाले त्यसैपनि सर्वसम्मत प्रदेश अधिवेशन हुने सम्भावना थिएन । अझ लुम्बिनीमा मतदान भएकाले यता मलजल गरेको छ’, ती नेता भन्छन् ।यसरी एकअर्कालाई हराउने गरी मैदानमा उत्रने गृहकार्य चलिरहँदा अर्को समूह पनि थपिएको नेताहरु बताउँछन्। त्यो समूहले पूर्वउपाध्यक्ष भीम रावललाई आफ्नो नेता मानेको छ । भीम रावलले भने केही बोलेका छैनन्। दशौं महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा चुनाव लडेपछि पार्टी गतिविधिमा रावल निष्क्रियजस्तै थिए। तर केही समयदेखि ओलीसँगै सार्वजनिक कार्यक्रममा देखा पर्न थालेका रावलले पार्टी गतिविधिमा पनि सक्रियता बढाएका छन्।

सुदूरपश्चिममा लामो समय एकछत्र प्रभाव जमाएका भीम रावल सक्रिय बनेपछि त्यसैलाई आधार मानेर कैलालीका झपट रावललाई प्रदेश अध्यक्ष बनाउने गृहकार्य सुरु भएको छ। तर झपट रावललाई अध्यक्ष बनाउन नयाँ समीकरण बनेको एक नेता बताउँछन्। ‘हिजोका गुटको आधारमा होइन। विकल्पका रुपमा झपट रावललाई अगाडि बढाएर जाऔं भन्ने हो’, ती नेता भन्छन्। एमाले विभाजनअघि झपट रावल माधव नेपाल समूहमा थिए। तर दश बुँदे सहमतिसँगै उनी एमाले विभाजनको विपक्षमा उभिएका थिए। अहिले उनलाई विगतमा ओली समूहमै रहेका नेताहरुले साथ दिइरहेको ती नेता बताउँछन्।

प्रतिनिधिसभा सदस्य भइसकेका, पार्टी केन्द्रीय सदस्य र युवा संघको केन्द्रीय उपाध्यक्ष समेतको अनुभव रहेका झपट रावललाई नेतृत्वमा स्थापित गरेर जाँदा एमालेमा नयाँ सन्देश जाने उनको तर्क छ । ‘युवालाई आकर्षित गर्ने पार्टी नीति नै छ। अझ हामीलाई एकतबद्ध एमाले बनाउनुपर्ने भएकाले पनि विकल्पमा जाऔं भन्ने हो’, उनी भन्छन् । यी तीनबाहेक कञ्चनपुरका बचनबहादुर सिंह र कमला बोहरालाई पनि प्रदेश अध्यक्षको उम्मेदवार बनाउने छलफल भइरहेको नेताहरु बताउँछन्। युवा संघका पूर्वअध्यक्ष सिंह र अखिलको राजनीतिबाट आएकी बोहरालाई नेतृत्वमा आउँदा पनि युवा नेतृत्वको सन्देश जाने उनीहरुको तर्क छ।