भूकम्पबाट १६ महिलासहित २४ जना घाइते, २३३ परिवार प्रभावित
2023/10/06, 12:20
 
ss

सुदूर पहाडका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर पटक–पटक गइरहेको भूकम्पका कारण स्थानीयमा त्रास बढेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांकअनुसार २०७९ असोजदेखि २०८० असोज १७ गतेसम्म साना ठूला गरी सुदूर पहाडी जिल्लामा ३६ पटक भूकम्प गएको छ।

बझाङमा १४, बाजुरामा १५, डोटीमा ३, अछाम र दार्चुलामा २र२ पटक भूकम्प गएको हो। मंगलबार दिउँसो गएको भूकम्पबाट १६ महिला र ८ पुरुष गरी २४ जना घाइते भएका छन्। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा गएको ५ दशमलव ३ र २१ मिनेटपछि फेरी ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पले ठुलो क्षति निम्त्याएको हो। एक जनाको मृत्यु नै भएको छ। साढे तीन सय बढी घर संरचनाहरुमा क्षति पुगेको छ।

मंगलबारदेखि बझाङबासीको बास त्रिपालमुनि छ। दुई सय ३३ परिवार प्रभावित बन्न पुगेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीको तथ्यांक छ। भूकम्पबाट एक सय ५५ घरमा आंशिक क्षति पुगेको छ भने विभिन्न ५३ भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ। उसो त बझाङमा मात्रै एक वर्षको अवधिमा १४ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक छ।

सो अवधिमा सबैभन्दा धेरै पटक भूकम्प बाजुरालाई केन्द्रविन्दुु बनाएर गएको छ। बाजुरामा १५ पटक भूकम्प गएको छ। बाजुरामा सबैभन्दा ठूलो ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प २०७९ माघ १० गते र २०८० वैशाख १५ गते गएको थियो। दुुवै पटक बिच्छ्यालाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। माघ १० गते गएको भूकम्पमा परी गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको थियो।

२१ घर पूर्ण क्षति, ४४ घरमा आंशिक र ४० घरमा सामान्य क्षति पुुगेको थियो। सबैभन्दा ठूलो भूकम्प डोटीमा गएको थियो। डोटीमा २०७९ कात्तिक २३ गते राति ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसबाट पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा, १४ वर्षीया तुलछी बोहरा गरी ६ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए।

त्यसको अघिल्लो राति खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५ दशमलव ७, र ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पविद् लोकविजय अधिकारीले डोटी र बाजुरामा माघ १० गते गएको भूकम्प एक अर्कासँग सम्बन्धित रहेको बताए। उनका अनुसार पश्चिम क्षेत्रमा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको छ। मंगलबार गएको भूकम्पका कारण बझाङका अधिकांश परिवार घरभित्र सुत्न समेत नसक्ने अवस्थामा पुगेका छन्।