एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि, के भन्छन् अध्यक्षका तीन दाबेदार
2023/10/08, 11:59
 
ss

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आइतबारदेखि सुरू हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने छन्।

असोज २१ र २२ गते धनगढीमा हुने अधिवेशनका लागि सडकमा झन्डा लगाएर सजाइएको छ भने कार्यक्रम हुने स्थल सौंराई पार्टी प्यालेसमा मार्क्स, लेनिन, मदन भण्डारी र मनमोहन अधिकारीका तस्बिर टाँसिएको छ। मञ्चको दायाँबायाँ अध्यक्ष ओलीका तस्बिर राखिएको छ।

अधिवेशनका लागि प्रदेशभरबाट ६ सय ७५ प्रतिनिधि छनोट भएका छन्।  आइतबार अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गरेपछि प्रदेश कमिटीका तर्फबाट आर्थिक तथा राजनीतिक प्रतिवेदन पेस गरिने छ। प्रतिवेदन पारित भएपछि बन्द सत्र हुनेछ। अधिवेशनले १ सय ५५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।

समयमै अधिवेशन सम्पन्न गरिने प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले बताए।  एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव छविलाल विश्वकर्माले संघीयता कार्यान्वयनको बाटोमा हिँड्ने एमाले पहिलो पार्टी भएको दाबी गरे। उनले संघीयता कार्यान्वयनकै लागि प्रदेश, स्थानीय तह र वडा स्तरमा अधिवेशनबाट पार्टीका सबै संरचना तयार हुने बताए।

एमालेका नेता भीम रावललाई अधिवेशनमा किन सहभागी नगराएको भन्ने प्रश्नमा उनले रावल राष्ट्रिय नेता भएकाले प्रदेशमा नओरालेको बताए। रावललाई पार्टी केन्द्रले नै जिम्मेवारी दिने उनको भनाइ छ।  उनले सुदूरपश्चिममा अरू प्रदेशभन्दा सहज तरिकाले अधिवेशन सम्पन्न गर्न आयोजक कमिटी सक्षम रहेको बताए।

‘अरू प्रदेशमा भएजस्तो हुँदैन,यहाँबाट राम्रो सन्देश प्रवाहित गर्न हामी सक्षम छौं, समझदारीका साथ नेतृत्व छनोटको टुंगोमा पुग्नेछौं,’ विश्वकर्माले भने।  सहमति नभए स्वस्थ प्रतिष्पर्धामा जान पनि तयार रहेको उनले बताए। 

अध्यक्षमा तीन जना दाबेदार
एमालेको सुदूरपश्चिम अध्यक्षका लागि तीन जनाले दाबी गरेका छन्। संघीयता कार्यान्वयनपश्चात् भएको पहिलो प्रदेश सभा निर्वाचनमा एमालेले सुदूरपश्चिम प्रदेश सभामा २५ सिट जितेको थियो। नेकपा हुँदा एमाले र माओवादीका ३९ सांसद पुगेका थिए। नेकपा विभाजन भएर एमाले अलग र त्यसबाट पनि एकीकृत समाजवादी अलग्गिएपछि यो पार्टीका ११ सांसद मात्रै प्रदेश सभामा थिए।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा प्रत्यक्षमा ३ र समानुपातिक ७ गरेर एमालेले १० सिटमात्र जित्यो। २०७४ को तुलनामा एमालेले २०७९ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभामा ५० प्रतिशत बढी सिट गुमाएको छ।  सुदूरपश्चिममा भीम रावलसित पार्टी नेतृत्वको मनमुटावले पनि एमालेले हार व्यहोर्नु परेको चर्चा हुन्छ। यो अवस्थामा पार्टीलाई एक ढिक्का बनाउने र २०८४ को निर्वाचनमा एकल सरकार बनाउने एजेन्डा बोकेर प्रदेश अध्यक्षका दाबेरदारहरू प्रतिनिधिमाझ गएका छन्।

कृष्णप्रसाद जैसी
अछामको मेल्लेख गाउँपालिका- ६ का कृष्णप्रसाद जैसी अहिले एमाले सुदूपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुन्।  उनी २०७९ को प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर १ ९ख० बाट उम्मेदवार बनेका थिए। उनी पराजित भए। एमाले विभाजन हुँदा त्यसको असर आफ्नो निर्वाचन क्षेत्रमा परेको उनको दाबी छ। आफू प्रदेश कमिटीको अध्यक्ष भए २०७९ मा एमालेले गुमाएका सिटहरू फिर्ता हुने र त्यसैमा अझ सिट थपिने उनको दाबी छ।

‘मिसन २०८४ मा सुदूरपश्चिममा एमालेले एकलौटी चुनाव जित्ने छ, एमालेको एकल सरकार बनाउने गरेर नयाँ नेतृत्वको संगठनले काम गर्ने छ,’ उनले भने।  उनी नयाँ पार्टीको आगमनलाई कमजोर पार्न समावेशीता र भूगोललाई समेटेर संगठन निर्माणमा जोड दिने बताउँछन्।

‘कुनै एक ठाउँमा चुनाव जितेकोजस्तो सबै ठाउँमा नयाँ पार्टीको संगठन बलियो हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीकै कुरा गरौं, पार्टीका सभापतिले नै समयमै सुध्रिनुहोस् भन्ने अभिव्यक्ति दिनुभएको थियो तर, उहाँले चितवनमा जिते जसरी मेरो गाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्न सजिलो छैन,’ उनले भने।

सुदूरपश्चिम एमालेमा दरार आएर विभाजन हुनु र विगतमा संगठनमा पदको लोभले बसिरहने तर सक्रिय र चलायमान तरिकाले काम गर्न चासो नदेखाउने नेतृत्वका कारण पनि एमाले चुनावमा कमजोर हुन पुगेको उनी बताउँछन्।  आफूले यी कुरामा सुधार गर्ने जैसीको दाबी छ। केन्द्रीय कमिटीमा रहेकाहरूसित गरेको कामको अनुभवको आधारमा आफू प्रदेशको अध्यक्षका लागि योग्य रहेको उनको भनाइ छ। ‘मैले काम गर्न सक्छु भन्ने पार्टीमा सबैले आशा राखेका छन्,’ उनले भने।
 

बचनबहादुर सिंह
एमाले सुदूरपश्चिम अध्यक्षका अर्का दाबेदार कञ्चनपुरका बच्चनबहादुर सिंह हुन्। उनी २०५० सालपछि विद्यार्थी राजनीतिबाट एमालेमा आवद्ध भएका थिए।  उनका बुवा मीनबहादुर सिंह २०५४ सालमा निर्विरोध वडा अध्यक्ष बनेका थिए। बुवाको प्रेरणा र एमालेको विचार, सिद्धान्तबाट प्रेरित भएर राजनीतिमा लागेको उनी बताउँछन्।

उनले विद्यार्थी संगठनका विभिन्न पदमा रहेर काम गरिसकेका छन्।  २०७९ को निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेश सभा ९क० बाट उम्मेदवार बनेका उनी पराजित भए।  उनी सुदूरपश्चिम अध्यक्ष सर्वसम्मत रूपमा छान्नुपर्ने पक्षमा छन्।  

‘हामी तीन जनाभन्दा अर्को व्यक्ति पनि योग्य ठानेर पार्टीले सर्वसम्मत रूपमा जिम्मेवारी दिए म सहमत छु, अहिले सबै पार्टीका साथीहरू नयाँ नेतृत्व, नयाँ परिवर्तन चाहन्छन्, म नेतृत्वमा परीक्षण नभएको व्यक्ति हो, एकचोटी काम गर्ने अवसर दिनुपर्छ भन्ने कुरा अरूले भनेका छन्,’ उनले भने।

आगामी निर्वाचनमा स्थानीय, प्रदेश र संघमा एमालेको बलियो उपस्थिति देखाउने गरी प्रदेशको जिम्मेवारी बहन गर्न तयार रहेको सिंहको दाबी छ।  ‘सुदूरपश्चिममा एमालेको एकल सरकार बनाउनका निम्ति मेरो उम्मेदवारी हो, नयाँ नेतृत्व हुनुपर्छ भन्ने पक्षमा रहेकाहरूले विश्वास गर्छन् भन्ने मलाई लाग्छ,’ उनले भने।

अध्यक्ष चुन्न निर्वाचनको प्रक्रियामा जान नहुनेमा उनको जोड छ। उनले अहिले देशभित्र र बाहिर रहेका शक्तिले एमालेलाई घेराबन्दी गरेको अवस्था रहेको तर्क गरे।  ‘चुनावमा संघ र प्रदेशमा एमालेको झिनो उपस्थित देखियो। बलियो बनाउन एमालेमा देखिएका समस्या, चाहे त्यो सांगठनिक होस् वा परीक्षणको कमी,  एमालेका जनसंगठन बलियो बनाउनेमा म काम गर्न तयार छु,’ उनले भने।

कमल तिमिल्सिना
एमाले सुदूरपश्चिम अध्यक्षका अर्का दाबेदार अछामका कमल तिमिल्सिना छन्। बान्नीगढी जयगढ-  ४ का तिमिल्सिना २०४३ बाट राजनीतिमा लागेका हुन्। २०४४ सालमा अखिलको अछाम- काठमाडौं सम्पर्क समितिको अध्यक्ष भएका थिए।  २०४७ बाट जिल्ली कमिटि सदस्य, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख हुँदै २०६६ देखि २०६८ सम्म जिल्ला अध्यक्ष भएका थिए।

त्यसपछि पार्टीको तत्कालीन अञ्चल कमिटी सदस्य भए। अहिले उनी प्रदेश कमिटी उपाध्यक्ष छन्।  आफू अध्यक्ष भए पार्टी एकतावद्ध, सबल, सुदृढ हुने तिमिल्सिनाले बताए। एमालेको मिसन ०८४ अभियान सफल पारेर प्रदेश सभामा एकल बहुमत ल्याउने गरी काम गर्ने उनले दाबी गरे।

पार्टी भित्रका समस्या परास्त गरेर जाने पनि उनको एजेन्डा छ।  अध्यक्षका आकांक्षी धेरै भएकाले पार्टीले सहमति खोजे स्वीकार गर्ने तिमिल्सिनाले बताए।  ‘पार्टी लोकतान्त्रिक मान्यतामा चल्ने भएकाले स्वस्थ प्रतिस्पर्धामा पनि जान सकिन्छ,’ उनले भने।