एमाले सुदूरपश्चिममा ३ अध्यक्षका उमेदवार, कसलाई कसको समर्थन ?
2023/10/08, 12:10
 
ss

नेकपा एमालेले असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन गर्दैछ । पहिलो कार्यकालमा अध्यक्ष बनेका कर्ण बहादूर थापा हाल स्थाई कमिटि सदस्य छन् भने बर्तमान अध्यक्ष दामोदर भण्डारी प्रतिनिधीसभा सदस्य भएका कारण पार्टी बिधानले उनलाई अध्यक्ष हुनबाट रोक्यो । २१ र २२ गते हुने प्रथम अधिवेशनका लागी अछामबाट २ जना र एक जना कञ्चनपुरबाट गरी ३ जनाले अध्यक्षमा दावी गरेका छन् । तिनै जनाले अध्यक्षमा दावी गरिरहँदा उपाध्यक्ष र सचिवका आकाक्षीं भने धेरै छन् । सो उमेदवारहरुले टिम भने अहिलेसम्म टुग्यांउन सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा यही २१ र २२ गते नेकपा एमालेको प्रदेश अधिवेशन हुँदैछ । अध्यक्षमा अछामका कमल तिमिल्सेना र अछामकै कृष्णप्रसाद जैशी तथा कञ्चनपुरका बचन बहादूर सिहं बीच प्रतिस्पर्धा हुने देखिएको छ । हालका अध्यक्ष रहेका दामोदर भण्डारी प्रतिनिधिसभा सदस्य छन् । एमालेको पछिल्लो विधिअनुसार उनी अध्यक्षमा उम्मेदवार बन्न नपाउने भएपछि सकेसम्म सहमति नभएपनि तिमिल्सेना र जैशीबीच चुनावी प्रतिस्पर्धा हुने आन्तरिक चर्चा छ । उनीहरू दुवैजना चुनावी तयारीमा जुटिरहेका छन् ।

तिमिल्सेना सुदूरपश्चिम कमिटीको उपाध्यक्ष छन् । २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन् । आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वाभाविक दाबेदार भएको उनले बताए । उपाध्यक्ष भएर प्रदेशको कामको अनुभव समेत संगालिसकेकोले स्वाभाविकरूपमा प्रदेश अध्यक्षको दाबेदार रहेको बताउँदै उनले पार्टीलाई अझ एकताबद्ध बनाउन, पार्टीमा समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

‘म उपाध्यक्ष भएर प्रदेशको कामको अनुभव समेत संगालिसकेकोले स्वाभाविकरूपमा प्रदेश अध्यक्षको दाबेदार हो’, उनी भन्छन्, ‘पार्टीलाई अझ एकताबद्ध बनाउन, पार्टीमा समन्वयकारी भूमिका खेल्न, संविधानको कार्यान्वयन गर्न, पार्टी भित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुर्किन नदिनका लागि मेरो उम्मेदवारी हो ।’

अध्यक्षका अर्का आकांक्षी कृष्ण प्रसाद जैशी पनि सुदूरपश्चिममा स्थापित नाम हो । अछाम जिल्ला विकास समितिको सभापतिका भइसकेका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ । केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ ९हालको युवा संघ नेपाल० केन्द्रीय कमिटीमा बसेर काम गरेका जैशी १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेफिकको सहअध्यक्ष थिए । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र एमालेको सरकार निर्माणको लागि आफूले अध्यक्षमा दाबी गरेको उनले बताए । जैशीले आफ्नो दाबी कायमै रहने र सहमतिको लागि वातावरणसमेत निर्माण गरिरहने बताएका छन् ।

‘मिसन ८४ को कुरा आइरहेको छ मेरो मिसन पनि त्यही हो । आगामी निर्वाचनमा एमालेलाई प्रदेशमा पहिलो पार्टी बनाउने र सरकार गठन गर्ने उद्देश्यसहित मैले अध्यक्षमा दाबी गरेको हो ’, उनले भने, ‘सबैसँग सल्लाह गरेर उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’ जैशीले आफ्नो दाबी कायमै रहने र सहमतिको लागि वातावरणसमेत निर्माण गरिरहने बताएका छन् ।

त्यस्तै नेकपा एमालेनिकट रास्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष बचनबहादुर सिंह पनि अध्यक्षका आकांक्षी हुन् । उनले सुदूरपश्चिमबाट युवालाई स्थापित गरेर देशभरी शन्देस दिलनुपर्नेमा जोड दिएका छन् । पार्टी बलियो बनाउनका लागी युवालाई जिम्मेवारी दिदा उपयुक्त हुने उनको तर्क छ । उनी हाल एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य छन् । प्रदेश अधिवेशनमा आफूले युवाको प्रतिनिधित्व गर्दै पार्टीलाई युवाको सोचसहित अगाडी बढाउने सङ्कल्पसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए। एमालेको यो प्रदेश अधिवेशन एकताको अधिवेशन हुने पनि उनले बताए।पहिलो पटक हुन लागेको अधिवेशनमा युवा नेता सिंहले प्रदेश अध्यक्ष पदका लागि आफू सक्षम रहेको बताए । सिंहले सुदूरपश्चिममा एमालेलाई बलियो पार्टी बनाउने आफ्नो योजना रहेको बताए। एमालेलाई सांगठनिक,वैचारिक र चुनावी मोर्चामा बलियो बनाउन र ‘२०८४ को मिसन र पार्टी बलियो बनाउने मेरो योजना छ, उनले भने।सुदूरपश्चिम प्रदेशमा युवाको काँधमा जिम्मेवारी आउने विश्वास व्यक्त गरे। सिंहले प्रदेश अध्यक्ष पदमा सघाउन सबैमा आग्रह गरे ।

धनगढीको सौराई प्यालेसमा हुने सुदूरपश्चिमको प्रथम अधिवेशनलाई एमाले अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जम्मा ६ सय ७५ प्रदेश प्रतिनिधी अधिवेशनका लागी छानिएर धनगढी पुगेका छन् । अधिवेशनको सबै तयारी सम्पन्न गरेको जनाउँदै प्रदेश कमिटिले सक्दो सहमतीमा प्रदेशको नेतृत्व चयन गर्ने दावी गरेको छ । प्रदेश अध्यक्ष दामोदर भण्डारीले सकेसम्म सुदूरपश्चिमबाटै सर्बसहमती बाट नेतृत्व चयन गरेर शन्देस दिने दावी गरेका छन् । हाल सुदूरपश्चिममा एमाले सचिव लेखराज भट्ट, स्थाई कमिटि सदस्य कर्ण थापा,, प्रदेश अध्यक्ष दामोदर भण्डारी र पुर्व उपाध्यक्ष भिम रावलले आ आफ्ना गुट चलाइरहेका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनमा यि नेताहरुका गुट स्पस्ट नदेखिएपनि सचिव लेखराज भट्ट, अध्यक्ष भण्डारी र भिम रावलले कमल तिमिल्सेना र स्थाई कमिटि सदस्य कर्ण थापाले कृष्ण प्रसाद जैशीलाई अध्यक्षको उमेदवार बनाउन चाहेको पार्टी श्रोतको दावी छ ।